विराटनगर– एकीकृत हातेमालो समाज नेपालले मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ बाहुनीका ४ सयभन्दा बढी बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। बाहुनी बजारमा आइतबार आयोजित कार्यक्रममा नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य एवम समाज कल्याण परिषदका अध्यक्ष र आयोजक संस्थाका अध्यक्ष डिल्लीराम गिरीले बालबालिकालाई ज्याकेट र स्वीटर वितरण गरेका हुन्।
स्थानीय किसान आधारभूत विद्यालय र देवकोटा प्राविका करिब ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष गिरीले जानकारी दिए।
त्यस्तै, सोही अवसरमा रोटरी क्लब अफ भादगाउँसँगको सहकार्यमा ७० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई ब्लाङ्केट, १५ जना विपन्नलाई सिरक, डसना, सिरानीसमेत प्रदान गरिएको थियो। स्थानीय क्लबलाई फुटबल, जर्सी, नेटलगायतसमेत वितरण गरिएको थियो। समाजकै पहलमा बाहुनीमा स्थापित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहलको समेत उद्घाटन गरिएको थियो।
कार्यक्रममा मन्त्री आचार्यले नवनिर्मित सभाहलको उद्घाटन पनि गरे। कार्यक्रममा मन्त्री आचार्यले बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा एकीकृत हातेमालो समाजले महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे।
राज्यले पूरा गर्नुपर्ने दायित्व एकीकृत हातेमालो समाजजस्ता संस्थाले पूरा गरिरहेको उनको भनाइ थियो। मन्त्री आचार्यले भजन किर्तनले मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउने भन्दै ज्येष्ठ नागरिकप्रतिकाे सम्मान र सुविधाजनक जीवनयापनका लागि सरकारले सहयाेग गर्ने बताए।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा दैनिक ७० जना ज्येष्ठ नागरिकले सेवा लिने गरेको अध्यक्ष गिरीले बताए। उनले ज्येष्ठ नागरिकहरु दिनभरि बस्ने, दुःखसुख साटासाट गर्ने, भजन गाउने, नाच्ने, रमाइलो गर्ने गरेको जानकारी दिए।
उनीहरुलाई दिउँसोको नास्ता सेवा केन्द्रमै उपलब्ध गराउँदै आएको गिरीले बताए। कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले बाहुनी क्षेत्रमा हातेमालो समाजले महत्वपूर्ण कार्य गर्दै आएकोमा धन्यवाद दिए। उनले सामाजिक संस्था कसरी चलाउनुपर्छ भनेर एकीकृत हातेमालो समाजबाट सिक्नु जरुरी रहेको उल्लेख गरे।
त्यस्तै सो अवसरमा पूर्वराज्यमन्त्री शिवकुमार बस्नेत, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, समाज कल्याण परिषदका सदस्यसचिव मनोज भट्टले पनि यस्ताे समाजसेवा खुलेर पशसा गरे। समाजसेवामा योगदान पुर्याउने संस्थालाई सबैले साथ र सहयाेय पुराउन पनि उनले अनुरोध गरे।


