काठमाडौँ- कोशी प्रदेशको सभामुख बनाउन गठबन्धनले समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्टलाई नेकपा (एमाले)ले पनि समर्थन गर्ने भएको छ।
मंगलबार बिहान बसेको नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको सत्ता गठबन्धनले पनि विष्टलाई समर्थन गर्ने बताइसकेका छन्। योसँगै विष्ट कोशी प्रदेशका सभामुख बन्ने निश्चित भएको छ।
मंगलबार बिहान बसेको कार्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो।
राप्रपा सांसद विष्ट झापाका समानुपातिक सांसद हुन्। यसअघि बागमती प्रदेशमा राप्रपबाट प्रदेश सांसद बनेका भुवनकुमार पाठक सभामुख छन्।


