काठमाडौं- विवादित तपस्वी रामबहादुर बम्जनले १७ देशका मुद्रा राखेको खुलेको छ। मंगलबार काठमाडौँको बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका बम्जनलाई सार्वजनिक गर्दै प्रहरीले उनको घरमा १७ देशका मुद्रा फेला परेको जानकारी दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का एसएसपी दिनेश आचार्यका अनुसार उनको घरमा फेला परेका १७ देशका मुद्राको नेपाली करिब ३० लाख ९२ हजार रुपैयाँ बराबर हुन्छ।
यस्तै उनको घरमा करिब ३ करोड ३ लाख ५५ हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
उनीमाथि बलात्कार र व्यक्ति बेपत्ता पारेको आरोप छ। उनी विरुद्ध ५ जनाले जाहेरी दिएका छन्।
विभिन्न व्यक्तिलाई बेपत्ता बनाएको र अनुनायीहरुलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनले आफूले अपराध नगरेको जिकिर गरेका छन्।
सीआईबीले लिएको प्रारम्भिक सोधपुछका क्रममा उनले कुनै पनि अपराध नगरेको जिकिर गरेका हुन्।
बम्जनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेको सीआईबीले जनाएको हो।
आफूलाई फसाउनका लागि विभिन्न अपराधको आरोप आफू माथि लगाइएको उनको दाबी छ।
उनले आफू यतिन्जेल ध्यानमा रहेको र नभागेको समेत उनको दाबी थियो।
