काठमाडौँ- राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ।
राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए। उजुरीको जाँचबुझ सकिएपछि आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ।
यही पुसको २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन्। त्यसपछि सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ। यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
