काठमाडौँ– यस्ता थोरै पात्र हुन्छन्, जो निश्चित क्षेत्रको एउटा कालखण्ड बोकेर हिँड्छन्। नेपाली फुटबलमा पनि यस्ता पात्र छन्, जसलाई औंलामा गन्न सकिन्छ। खेलाडीमा हेर्ने हो त्यो संख्या अझ एकदमै कम छ। जसले अन्यौल, निराशा र अनिश्चयलाई झेले, अनि पुरै खेलजीवन मैदानमै बिताए।
‘मेरो ब्याचबाट सुरु गरेका ७०/८० जना खेलाडीबाट आज हामी चार/पाँच जनामा सीमित छौँ। बाँकी रहेको ६५ जनाभन्दा धेरै खेलाडी कहाँ होलान् त?,’ डिफेन्डर विक्रम लामा प्रश्न गर्छन्। विक्रम, थोरै खेलाडीमध्येका एक खेलाडी हुन्, जो अहिले युवा खेलाडीको उदाहरण र प्रेरणा बनिरहेका छन्।
अहिले काठमाडौँमा देशकै सबैभन्दा ठूलो फुटबल लिग चलिरहेको छ। खेलाडी पलायन हुने क्रम पनि जारी छ। खेलाडी पलायनको असरको चित्र लिगमा स्पष्टै देखिन्छ। तर पनि औंलामा गन्न सकिने पुराना खेलाडी फेरि एकपटक नेपाली फुटबललाई बचाउन मैदानमा फर्किएका पनि छन्।
‘हामीले सम्मान गर्नुपर्छ ती खेलाडीलाई,’ च्यासल रंगशालामा एक खेल सकिएपछि प्रशिक्षक मेघराज केसीले भने, ‘नेपाली फुटबललाई खडेरी लागेको समयमा यो उमेरमा पनि एक पटक नेपाली फुटबल बचाउनु पर्छ भनेर खेल्दिरहेको छन्।’
तिनै मेघराजको टिमबाट सबैजसो खेल खेलिरहेका छन्, भेट्रान विक्रम लामा(३४ वर्ष) र विराज महर्जन(३२)। सातौं चरणमा उनको टिमले मनाङ मर्स्याङ्दीविरुद्ध खेल्दा त अर्का भेट्रान सन्तोष साहुखला (३६)ले पनि ९० मिनेट नै मैदानमा बिताए।
सन्तोष तिनै खेलाडी हुन्, जो लिगको समयमा नेपाल आउँछन्। अनि बाँकी समय रोजगारीका लागि जापान जान्छन्। नेपाली फुटबलमा टिक्ने ‘निन्जा टेक्निक’ अपनाएका छन्, सन्तोषले। यो सिजनमा पनि छैटौं चरणको खेल सकिएपछि थ्री-स्टारको जर्सीमा देखिए उनी।
लिगमा सय गोल पूरा गर्ने एक मात्र खेलाडी उनै सन्तोष हुन्। वर्षको तीन महिना चल्ने अनि कुनै वर्ष हुँदै नहुने अव्यवस्थाबाट गुज्रिएको लिगमा सय गोल पुरा गर्नु आफैंमा ठूलो उपलब्धि हो। जुन सानोतिनो तपस्याले सम्भव हुँदैन। त्यसैले होला उनलाई धेरैले नेपाली फुटबलको ‘लिजेन्ड’ पनि भन्ने गरेका छन्। खासगरी च्यासल फुटबल क्लबमा उनको योगदानलाई लिएर।

सन्तोष साहुखल (३६)।
‘लिगमा सिनियर खेलाडी हाइलाइटमा देखिनु उहाँहरुको अथक मेहेनेतको उपज हो। त्यसको लागि धेरै कडा मेहनत चाहिन्छ,’ थ्री-स्टारकै कप्तान विक्रमले भनेका छन्। उनी त नेपाली फुटबलका सबैभन्दा अनुशासित खेलाडी हुन्। मैदानमा पनि मैदान बाहिर पनि।
फुटबल पत्रकार हिमेश रत्न बज्रचार्य यसैगरी सम्झन्छन् विक्रमलाई। उनलाई लाग्छ, ‘विक्रम थ्री-स्टारको खास खेलाडी भए। मैदानबाहिर एकदमै सोझो।’
अखिल नेपाल खेलाडी संघका अध्यक्ष रहेका विक्रम मोफसलका पछिल्ला धेरै खेलहरुमा प्रशिक्षकको भूमिकामा देखिए। लामै समय मैदानबाट बाहिर रहेका विक्रम अहिले फेरि मैदान फर्किएका छन्।
‘चोट लागेपछि नखेल्ने सोच नै बनाइसकेको थिएँ। ढाडको समस्याले एकदमै सताएको थियो,’ विक्रमले सुनाए। तर उनलाई क्लबले खेल्न बोलायो। थ्री-स्टारमा उनको लामै लिगेसी छ, छुट्टै सम्बन्ध पनि। उनी आफूलाई क्लबप्रति ऋणी ठान्छन्।
‘यस्तै कुराले क्लबलाई गाह्रो परेको बेलामा खेलौँ भनेर मैदान फर्कन सहयोग गर्यो,’ नेपाल क्लिक्ससँग विक्रमले मैदान फर्किनुको अन्तर्य खुलाए, ‘सहयोग गर्नुपर्यो भनेर नै खेलिरहेको छु।’
उनी मैदानमा कम छैनन्, सबै खेलमा पूरा समय खेलिरहेका छन्। जबकि उनले लिग लेख्न थालेको नै १७ वर्ष पुगिसकेको छ। अहिले पनि उही जोसका साथ पूरै समय खेल्न सक्नु चानचुने कुरा होइन। युरोपका व्यावसायिक फुटबल खेल्ने खेलाडीको लागि पनि झन्डै दुई दशक उत्तिकै उर्जा लिएर खेल्नु असम्भव नै हुन्छ। सँधै उही लयमा खेलिरहन त यो जमनाका सर्वोत्कृष्ट कि रोनाल्डो हुनुपर्यो कि त मेस्सी। त्यो पनि नभए जाल्टन इब्राहिमोविच त हुनै पर्यो। तर विक्रम खेलिरहेकै छन्।
‘खेल्दा चुनौती धेरै आउँछन्। सँधैभर क्लबले चाहेको जस्तो खेलिदिनु पर्छ। सँगसँगै अनुशासनको कुरालाई पनि ध्यान दिनु पर्छ। शारीरिक अनुशासन मात्र नभएर ‘स्पोर्ट्स डिसिप्लिन’लाई ध्यानमा राख्नु पर्छ। हामीले सबै प्रोटोकललाई फलो गर्ने हो भने खेल्न चाहिँ सकिन्छ,’ उनले अनुभव सुनाए, ‘यो वर्ष धेरै मेहनत गरेको छु। अरु समयको भन्दा पनि धेरै। फुटबलमा आफ्नो शाखलाई जोगाउनको लागि फेरि फर्किएको हुँ। त्यो हिसाबले बुझ्दा राम्रो हुन्छ।’

विक्रम लामा (३४ वर्ष)।
नेपालमा फुटबल खेलाडी अधिकतम खेल्ने अवधि भनेको राष्ट्रिय टिममा रहँदासम्म मात्र हो। अहिले खेलाडी पलायनको क्रमले त त्यो उमेरलाई एकातिर घटाइदिएको छ भने सिनियर खेलाडीलाई हेर्दा खेल्ने उमेर बढेको पनि देखिन्छ।
‘हाम्रो फुटबलमा के मान्यता स्थापित थियो भने ३१–३२ मा सन्यास लिनुपर्छ। नभए पनि त्यो उमेरमा बाँकी केही गर्नुपर्छ भन्ने थियो। अहिले त्यो मान्यता नै भत्किन थालेको छ,’ खेल पत्रकार प्रकाश तिमल्सिना भन्छन्, ‘सिनियर भएर पनि खेलिरहनुले चाहिँ खेलको उमेर बढेको अनुभुति भइरहेको छ। संन्यास लिने उमेर बढेर ३५–३७ वर्ष मा जाने कुरालाई स्थापिन गर्न खोजिरहेका छन्। ३२ भन्दा माथि धेरै खेल्न सकिन्छ भन्ने उदाहरण बन्यो।’
प्रकाशले भनेको कुराको पक्का उदाहरण हुन् विराज महर्जन। उनी नेपाली फुटबल इतिहासका सबैभन्दा शृंगारिक कप्तान हुन्। काठमाडौंको रैथाने नेवारमध्ये राष्ट्रिय टिममा पुगेर तहल्का मच्चाउने अन्तिम खेलाडी पनि। उनीभन्दा पछि रैथाने नेवारले राष्ट्रिय टोलीमा त्यो स्थान बनाउन सकेका छैनन्।
बालगोपाल महर्जन, उपेन्द्रमान सिंहसँगै राष्ट्रिय टिममा काठमाडौंका नेवारको बाहुल्यता हुन्थ्यो। पछि उपत्यकाका नेवारी समुदायमा फुटबल कल्चर हराउँदै गयो। त्यसैले उनी अन्तिम भए। उनको घरबाट तीन राष्ट्रिय खेलाडी जन्मिए विक्रम(दाई), रत्नकाजी(काका) र उनको बाबु। तर, आफ्नो परिवारका अब्बल उनी बने।
विराजले तीन क्लबबाट ए डिभिजन लिगको उपाधि जितेको अनुभव संकलन गरेका छन्। साथै तीन अन्तर्राष्ट्रिय उपाधि पनि। त्यसपछि राष्ट्रिय टिममा लामै समय नपरेपछि एउटै मात्र गुनासो गर्थे, ‘मैले सम्मानपूवर्क सन्यास लिन पाउनु पर्छ।’
दुई वर्ष अघि आयोजना भएको थ्री नेसन्स कपमा उनले फाइनलमा पाँच मिनेट खेलेर अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए। त्यसपछि के गर्लान् विराज? भन्ने धेरैको चासो थियो। तर उनले फुटबल छोडेनन्। अहिले पनि उनी उत्तिकै जोसका साथ खेलिरहेकै छन्।
गएको सिजन च्यासलबाट खेलेका उनले यो सिजन थ्री-स्टार क्लबबाट खेलिरहेका छन्। विराजले फ्रेन्ड्सविरुद्ध ८८, सातदोबाटोविरुद्ध ७८ मिनेट खेलेका थिए। आर्मीलाई हराउँदा पूरा समय डिफेन्स गरेका उनले बाँकी खेल (एपीएफ, खुमलटार, आर्मीसँग) पनि पूरा समय खेले।

विराज महर्जन (३२)।
‘अस्ति मनाङविरुद्धकै खेलमा पनि विराज र विक्रमले डिफेन्समा राम्रो रोल प्ले नगरेका नभए धेरै गोल खान्थ्यो होला,’ कमेन्टेटर अभिनव जोसीलाई यस्तो लाग्छ।
राष्ट्रिय टिममा खेलिरहँदा र त्यसपछि खेल्न कत्ति फरक हुनेरहेछ त? जवाफमा विक्रमले भने, ‘राष्ट्रिय टिममा हुँदा राम्रो खेलाडीसँग खेल्ने मौका मिल्छ। जसले घरेलु फुटबल खेल्दा आत्मविश्वास बढ्छ। सजिलो पनि हुन्छ। अरुबेला त्यो कम हुन्छ।’
एक समय नेपाली राष्ट्रिय टिम र घरेलु फुटबलका अब्बल स्ट्राइकर हुन्- जुमानु राई (३९)। अनिल गुरुङको पार्टनरसिपमा उनले तहल्का पिटेका थिए। पुलिसलाई तीन पटक घरेलु शीर्ष डिभिजनको लिग जिताउन उनले अतुलनीय योगदान गरेका थिए। तर, उनको गोल नेपाली फुटबल समर्थकले हेर्न नपाएको धेरै भयो। अघोषित रुपमा मैदान छोडेका उनी लामो समय देखिएनन्।
‘पुलिस एकदमै चम्किँदाको अन्तिम खेलाडी हुन्, जुमानु। नेपालबाट सबैभन्दा धेरै गोल गर्नेमध्ये शीर्ष पाँचमा पर्छन् उनी। गाउँतिर आफैं खेल्न सिकेर बनेका स्टार खेलाडी हुन्,’ हिमेश भन्छन्, ‘उनले एकै वर्षमा आठ अन्तर्राष्ट्रिय गोल गरेका थिए।’
उनले खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट खेलाडीको पुरस्कार समेत जितेका थिए।
खेल्न छोडेको धेरै समयपछि लिगको यो सिजनमा अविश्वनीय रुपमा मैदानमा झुल्किएका छन्- जुमानु। उनी न्यु रोड टिमविरुद्ध खेलको ७०औं मिनेटमा ओसेन्द्र कटुवालको ठाउँमा मैदान प्रवेश गरे। त्यो दिन एक गोलले पछि परेको पुलिसले लिगमा पहिलो बराबरी गर्दै पहिलो अंक जोडेको थियो।
एनआरटीविरुद्ध जुमानु मैदान प्रवेश गर्दै गर्दा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पुलिसका कप्तान भोला सिलवाल माथि व्यंग्य कस्दै भनेका थिए, ‘सबै पुराना खेलाडी मैदान पस्दैछन्। म पनि खेलौँ कि के हो?’ तत्कालीन हिसाबमा शाक्यले सिलवाल माथि व्यंग्य गरेपनि उनको कुराले लिगको अवस्था दर्शाइरहेको थियो।
अहिले पुलिसका प्रशिक्षक चेतन घिमिरेका समकालीन खेलाडी हुन्, भरत र जुमानु। अघिल्लो वर्ष दशरथ रंगशालामा नै भएको भेट्रान्स लिगमा यी दुवै खेलाडीले खेलेका थिए। भेट्रान्स लिग खेल्नुले उनीहरू लिग फुटबलमा नफर्किने संकेत गरेको थियो। तर, भयो फरक।
यी गतिविधिलाई नजिकबाट हेरिरहेका प्रकाश भन्छन्, ‘जुमानुले खेल्न छोडेको भनेर उल्लेखै गरेर भनेका छैनन्। यद्यपि अहिले खेलाडी अभाव देखिएर उनी आएको पक्कै हो। यसले नयाँ खेलाडी पर्याप्त नभएको सन्देश दिन्छ।’

जुमानु राई (३९)।
दक्ष खेलाडी नहुँदा कुनै समय लिगमा ह्याट्रिक गरेको विभागीय टिम पुलिस यो वर्ष लिगको पुछारतिर छ। त्यसैले गर्दा हुन सक्छ, भरत साहले संकटाविरुद्ध लिगको पहिलो खेल खेले। लिगमा पुलिसको त्यो तेस्रो खेल थियो। सुरुआति ११ मै रहेका उनले ७९ औं मिनेटसम्म खेलेका थिए। त्यसपछि मछिन्द्रविरुद्ध २–१ को हार बेहोरेको दिन त भरतले टिमको कप्तानी नै सम्हालेकै थिए।
एनआरटीलाई पुलिसले बराबरीमा रोकेको दिन कप्तान भरतसँगै जुमानुले २० मिनेट खेलेका थिए। पुलिसकै पुराना खेलाडी भोलानाथ सिलवाल संकटा क्लबविरुद्ध ६९औं मिनेटमा मैदान प्रवेश गरे। उनी पुलिसको स्क्वाडमा लगातार रहेका खेलाडी हुन्। पुलिसले लिगमा तहल्का पिटेको युगका अन्तिम पुस्ताका खेलाडी पनि हुन्, उनी। विराटनगरका यी खेलाडीले २००८ देखि २०१४ को फिफा विश्वकप छनोटसम्म नेपाली टिमबाट खेलेका थिए।
‘अब यस्तो हुने रहेछ कि, खेलाडीको बहिर्गमन पनि आ-आफ्नो हुने रहेछ। कोही चाहिँ सबैलाई देखाएर सन्यास लिन पाउनु पर्छ, योगादनको कदर गर्नु पर्छ भन्ने पनि हुन्छ। अर्को चाहिँ त्यतिकै बाहिरिने पनि हुने रहेछ,’ प्रकाश भन्छन्। सिलवाल, राई, साहहरू यस्तै खेलाडी थिए जो चुपचाप बाहिरिए।
चुपचाप बाहिरिएका सिलवाल फाट्टफुट्ट मात्र मैदानमा देखिन्छन्। जहाँ उनी पुलिसको टिमबाट लिग र मोफसलका प्रतियोगिता खेल्छन्।
‘मिडबाट निकै खटेर खेल्ने उनले गोल पनि गर्छन्,’ उनीबारे हिमेश भन्छन्, ‘मैदानबाहिर एकदमै रमाइलो व्यक्ति। पछि उनले आफ्नै समर्थकसँग बिहे गरे।’
आर्मीका टेक बहादुर बुढाथोकी संकटाविरुद्धको खेलमा ६०औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उनी पनि निकै सिनियर खेलाडी हुन्।
आर्मीकै भरत खवासको प्राइम टाइम सकिएको त लामै समय भयो। उनी अहिले टिमका कप्तान हुन्। पुलिसमा रहेर सानदार खेल पस्किए पनि उनलाई विभागले बेवास्ता गर्यो अनि आर्मीमा भर्ती भए। त्यहाँबाट देशका सबै प्रतियोगिता खेलिरहेका छन्।
उनले पछिल्ला दुई सिजनमा आर्मीलाई लिगको उपविजेता बनाए। दुई सिजनअघि त आफैं बेस्ट फरवार्ड पनि भए। तर पछिल्लो समय राष्ट्रिय टिमका समेत खेलाडी विदेशिएपछि उनलाई प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेसले राष्ट्रिय टिममै बोलाएका थिए।

भरत खवास (३२)।
राष्ट्रिय टिममा पर्न छोडेको उनी पनि धेरै भइसकेको थियो। आफ्नो उमेरका कारण पनि उनलाई चोट र बिमारले सताइरहन्छ। यद्यपि उनी लिगमा आफ्नो बेस्ट दिनको लागि खेलिरहेकै छन्।
‘भरत दुर्लभ खेलाडी हुन्, उनले पुलिस र आर्मी दुवैका लागि खेले,’ हिमेश सुनाउँछन्, ‘एन्फा एकेडेमीको उत्पादन उनी मैदानबाहिर धेरै भलादमी खेलाडी हुन्। सोझो तरिकाले कुरा गर्ने। विराजका सबैभन्दा मिल्ने साथी पनि हुन्, उनी। उसको प्राइम समय एकदुई वर्ष मात्र रह्यो। त्यो समयमा उनी नेपालका सबैभन्दा उत्कृष्ट रहे। जतिबेला उनले गोलका गोल गरे।’
अहिले लिग खेलिरहेका सिनियर खेलाडीमध्येका एक हुन्, मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर चेतन थारु (३२)। उनी पनि छैटौं चरणको खेलमा संकटाविद्ध ८९औं मिनेटमा मैदान प्रवेश गरेर खेलिरहेका छन्। उनीजस्तै युद्ध साही र दीपेन्द्र कार्की पनि उत्तिकै उर्जा लिएर मैदानमा दौडिरहेका छन्। तर, यो उमेरमा आएर खेल्न के सजिलो होला त? पक्कै हुँदैन।
प्रशिक्षक मेघराज केसी भन्छन्, ‘अभ्यास गर्न युवा खेलाडीले भन्दा त उनीहरुलाई गाह्रो भइरहेको होला नि! त्यसैले, उनीहरुलाई सम्मान गर्नुपर्छ। उनीहरुको प्रदर्शन त कुनै पनि स्तरमा कम छैन नि! त्यसको लागि उनीहरुले कस्तो मेहनत गरिरहेका होलान्।’

थ्रीस्टारका प्रशिक्षक मेघराज केसी। तस्बिर : एन्फा
शरीरमा उमेरको भार थपिए पनि ऊर्जा नघटेको विक्रम बताउँछन्। उनी आफ्नो अनवरत अभ्यास र खानपानले खेल्न सकेको बताउँछन्। ‘ऊर्जा फरक परेको छैन। युवा अवस्थामा खेल्दा र अहिले खेल्दा त्यस्तो फरक भन्ने केही पनि हुँदैन। मेरो केसमा चाहिँ म फिटनेस र हेल्थमा ध्यान दिने मानिस हो। खुट्टा भाँचिदा ८ महिना, ढाडमा चोट लाग्दा दुई वर्ष, फेरि अस्ति दुई वर्ष ग्याप भयो। त्यसका बाबजुद खेलिरहेको छु,’ विक्रम भन्छन्, ‘म खेलमा फर्किरहेको हुन्छु। अहिले पनि फर्किएको हो। त्यस्तो अभ्यासहरुमा मलाई गाह्रो हुँदैन। खानपिन र खेल अनुशासनमा ध्यान दिन कोसिस गर्छु।’
एउटा खेलाडी जब युवा नै हुन्छ, उतिबेला उसले अरुको निर्देशनमा खेल्छ। अनि, धेरै कुरा थाहा हुँदै जान्छ। समयसँगै परिपक्व भइरहेको र अनुभवले निखारिएको अवस्थामा फुटबल खेल्दा चाहिँ खेलाडीलाई सहज लाग्ने विक्रमको अनुभव छ।
‘अहिले आफ्नो अनुभवलाई योजनामा ढाल्न सजिलो हुन्छ। परिपक्व भएपछि निर्देशन दिन सजिलो हुन्छ। शारीरिकभन्दा त्यो युवा जोस अहिले रहन्न। तर, अनुभवले गर्दा सजिलो हुन्छ,’ उनले भने।
ए डिभिजन लिगमा गएको मंगलबार मात्र निकै पाका विदेशी खेलाडी ओलावाले अफिजले पाँच गोल गरे। थ्री-स्टारको डिफेन्स मजबुद छ। आर्मीको डिफेन्स त उदाहरण नै बन्ने गरेको छ। यी सबैमा सिनियर खेलाडी नै चम्किरहेको छन्।
‘मैदानमा उपस्थित भएर खेल्नु भन्दा पनि प्रभुत्व जमाउनु ठूलो कुरा हो। त्यसको लागि मेहनत र लगन चाहिन्छ। त्यस्तो खेलाडीबाट भोलिको लागि फाइदा हुने किसिमले युवा खेलाडीले पनि सिक्न जरुरी पनि छ,’ विक्रमले भने।
प्रकाश पनि उही कुरालाई जोड दिन्छन्। ‘सिनियर खेलाडी टिममा सक्रिय रहनुले नयाँ खेलाडीलाई मैदान भित्रै गाइडेन्स र अभिभावक भएको छ,’ उनी भन्छन्। तर यो स्थिति बाध्यात्मक अवस्थाबाट सिर्जित भएको हो। युवा र कौशलले भरिएका खेलाडी नभएपछि सिनियर खेलाडी मैदानमा फर्किएको सत्य हो।
‘युवा खेलाडी हुन्थे भने उनीहरुको सम्भावना पनि कम हुन्थ्यो होला। यो एउटा पाटो भयो। सँगसँगै उनीहरुले यसलाई अवसरको रुपमा पनि लिए। पोजिसनवाइज खेल्न सकेपछि त व्यावसायिक हिसाबले पनि लामै समय खेल्न सकियो क्लब र खेलाडी दुवैलाई फाइदा भयो,’ प्रकाश भन्छन्, ‘मलाई त कोसिस गरिरहेका देख्दा पोजेटिभ लाग्छ। उनीहरुलाई आर्थिक हिसाबले पनि सकारात्मक भयो। अनुभव सेयर पनि भयो।’
तर खेलाडीले मैदान छोड्ने अवस्था किन आउँछ? ‘कतिले चोटले होला, कतिले घरायसी कारणले होला, कतिले आफूलाई फिटनेसमा राखेर खेल्न नसकिरहेको होला। तर चाह्यो भने त खेल्न सकिने रहेछ नि! होइन त? यो कुरा अहिलेका खेलाडीले ग्रहण गरे भने अझ राम्रो हुन्छ,’ विक्रमले कुरा टुंग्याउँदै भने, ‘केही खेलाडीले आफूले आफूलाई मूल्यांकन गर्नुपर्छ भन्ने पनि लाग्छ। अब आउने युवाहरुलाई प्राथमिकता दिन हामीले पनि बुझिदिनु पर्छ।’
विक्रम, विराज, सन्तोष, भरतजस्ता खेलाडीको खेल धेरै समय हेर्न पाइने छैन। उनीहरुलाई नेपाली फुटबलका सम्पत्ति भएकाले यी खेलाडीलाई सम्मान दिन भुल्न नहुने प्रशिक्षक मेघराज बताउँछन्।



