मलङ्गवा (सर्लाही)- हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतसमक्ष प्रस्तुत गरिएको छ।
जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो।
उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। अहिले जिल्ला अदालत सर्लाहीमा बयान भइरहेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो।
सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै ‘तपस्वी’ भनिने बम्जनविरुद्ध बालयौन शोषणको मुद्दा परेको थियो।
२०७३ साल साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरेको र पीडितलाई डर धाक धम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ।
उनी १८ वर्षकी भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा २०७६ माघ २३ गते जाहेरी दर्ता गरिएको थियो। सरकारी वकिलको कार्यालय सर्लाहीले २०७७ अषाढ १८ गते जिल्ला अदालत सर्लाहीमा अभियोग दर्ता गरिएको थियो।
अभियोग दर्ता भएपछि जिल्ला अदालत सर्लाहीले २०७७ चैत्र २१ गते पक्राउ पूर्जी जारी गरेको थियो।
प्रहरीका अनुसार बम्जनले तपस्वीको भेषमा विभिन्न अपराध गरेको आरोप छ। उनीविरुद्ध चार जना आनी बेपत्ता बनाएको आरोप छ।
जिल्ला अदालतमा बम्जनलाई पेस गरेपछि अदालत बाहिर उनका समर्थकको भिड लागेको छ।


