काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गरेका अर्थतन्त्र, परराष्ट्रलगायत कतिपय नीतिहरू अझ पनि सान्दर्भिक रहेको बताएका छन्।
शुक्रबार ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरे।
‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरूलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका शाहले अवलम्बन गर्नु भएका स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्,’ देउवाले भनेका छन्।
उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाल र नेपालीको पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्राप्त होस् भन्दै शुभकामना दिएका छन्।


