काठमाडौँ- राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत भएकी छन्। शुक्रबार बिहान सम्बद्ध पक्षको बैठकले मल्ललाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो।
महासंघको अध्यक्षमा सर्वसम्मत भएकी मल्ल महासंघको अध्यक्षमा पुग्ने पहिलो महिला हुन्। भारतबाट सहकारीमा डिप्लोमा गरेकी मल्ल अन्तराष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिमा सदस्य भइसकेकी छन्। उनी सन् २०१७ देखि २०२२ सम्म अन्तर्राष्ट्रिय सहकारी महासंघमा सञ्चालक समिति सदस्य बनेकी थिइन्।
मल्ल एसियाली देशहरूबाट अन्तर्राष्ट्रिय महासंघमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन्। यस्तै अन्तर्राष्ट्रिय सहकारी महासंघमा प्रतिनिधित्व गर्ने उनी पहिलो नेपाली महिला पनि हुन्।
महासंघको निर्वाचनका लागि मतदाताहरूको नामावली प्रकाशनपूर्व नै अध्यक्षमा मल्ल सर्वसम्मत बनेकी हुन्। यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल सर्वसम्मत छन्। बाँकी पदहरुमा पनि सहमतिको प्रयास भइरहेको छ।
सहमतिको प्रयास भएपनि यसअघि सार्वजनिक निर्वाचन कार्यक्रमअनुसार समितिले अघि बढाएको निर्वाचन समितिको भनाइ छ।
संघको विनियमको दफा २२(१) वमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र सदस्यहरू गरी जम्मा २४ पदको र लेखा सुपरिवेक्षण समितिको संयोजक र सदस्यहरू ३ पदको निर्वाचन हुन लागेको हो।
निर्वाचनका लागि २८७ केन्द्रीय प्रतिनिधि कायम छन्। प्रतिनिधिहहरुमा बागमतीबाट ८८ जना, कोशी प्रदेशबाट ५८ सदस्य, मधेशबाट ३०, गण्डकीबाट ३७, लुम्बिनीबाट ३७, सुदुरपश्चिमबाट २३ र कर्णालीबाट १४ जना प्रतिनिधि रहेका छन। महासंघमा ३१८ सदस्य संघहरु आवद्ध रहेका छन्।
महासंघको स्वीकृत निर्वाचन निर्देशिका अनुसार संचालक समितिमा महिलाका लागि ८ कोटा छ भने लेखासुपरीवेक्षण समितिमा कम्तिमा १ जना महिलाको अनिवार्य प्रतिनिधित्व हुन्छ।
महिलाका लागि १ उपाध्यक्ष, ७ प्रदेशमध्ये बागमती र लुम्बनी प्रदेशबाट १ / १ जना महिला अनिवार्य र अन्य ५ खुला प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी ९ खुला सदस्यका लागि ५ महिला कोटा छुट्टाइएको छ। लेखा सुपरिवेक्षण समितिमा १ महिलासहित तीन सदस्यीय समितिको निर्वाचन हुने छ। २८७ प्रतिनिधिमध्ये २९ जना महिला प्रतिनिधि कायम रहेका छन।
मतदाता नामावलीमाथिको दबाविरोध गर्ने समय आजै १ बजेसम्म छ। अन्तिम मतदाता नामावली साढे १ बजे प्रकाशन हुनेछ। उम्मेदवारको मनोनयनका लागि ४ बजेसम्मको समय दिइएको छ। उम्मेदवारविरुद्ध दाबीविरोध गर्नका लागि साढे ५ बजेसम्मको समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली राति ९ बजे प्रकाशन गर्ने समितिको कार्यक्रम तय छ।
कुनै पनि पदमा विधानको व्यवस्थाअनुसार आवश्यक पद भन्दा बढी व्यक्तिको उम्मेदवारी परे पुस २८ गते सवा १२ बजेदेखि साढे २ बजेसम्म मतदान गर्ने कार्यक्रम तोकिएको छ। त्यसपछि निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरिने महासंघले जानकारी दिएको छ।



