काठमाडौं – अष्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्ने फिफा महिला विश्वकपको लागि ६ लाख ५० हजार टिकट बिक्री भएको छ। आउँदो संस्करणको फिफा विश्वकपमा आयोजकले १५ लाख टिकट बेच्ने लक्ष्य राखेको छ।
‘महिलाहरुको विश्वकै ठूलो इभेन्ट आयोजनालाई ऐतिहासिक बनाउने लक्ष्यका लागि यो वर्ष फिफाको मिसन रहेको छ,’ फिफाका महासचिव फातिमा समोउराले भनेकी छन्।
यो वर्षको फिफा विश्वकप आउँदो २० जुलाई देखि दुई देशमा सुरु हुँदैछ। यसरी दुई देश मिलेर आयोजना गरेको भने यो पहिलो पटक हो। सो प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेको सामना गर्नेछ। त्यस्तै, रिपब्लिक अफ आयरल्यान्डले भने आयोजक अष्ट्रेलियाको सामना गर्नेछ।
विश्वकपमा सहभागी बनेका ३२ टिमलाई समान ४–४ टिमको आठ समूहमा बाँडिएको छ। त्यसबाट शीर्ष दुई टिम अर्को चरणमा प्रवेश गर्नेछन्। यो प्रतियोगितालाई विश्वभरीका दुई बिलियन मानिसले हेर्ने फिफाले आँकलन गरेको छ।
फिफाको अनुसार उद्घाटन खेलमा नै एक लाख मानिसको उपस्थिति हुनेछ। सोही खेलमा न्युजिल्यान्डले १९९५ को विजेता टिमसँग खेल्नेछ। यता अष्ट्रेलियाको पहिलो खेल हेर्न धेरै टिकट विक्री हुने भएपछि ठूलो रंगशालामा सारिएको छ।
यता फिफाका अध्यक्ष जियान्न एन्फान्टिनोले सन् २०१९ बाट २४ देखि ३२ टिम बनाएसँगै यो विश्वकप अहिलेसम्मको सबैभन्दा उत्कृष्ट र रोमाञ्चक हुने दाबी गरेका छन्।
विश्वकपअन्तर्गतका ६४ खेललाई विभिन्न १० भेन्यूमा खेलिने छन्। यो वर्ष पोर्चुगल, आयरल्यान्डसँगै आठ टिमले विश्वकपमा डेब्यु गर्ने छन्। विश्वकपमा डेब्यू गर्ने बाँकी देशहरुमा भियतनाम, फिलिपिन्स, हाइटी, पानामा, जाम्बिया र मोरोक्कोसमेत रहेका छन्।
फिफा वरियताको ७७ औं स्थानमा रहेको जाम्बिया विश्वकप खेल्ने सबैभन्दा कम वरियताको टिम हो। यो विश्वकपमा डेनमार्क १६ वर्षपछि पहिलो पटक खेल्दैछ।
विश्वकपका सबै संस्करण खेलेका अमेरिका, जर्मनी, स्विडेन, ब्राजिल, जापान, नर्वे र नाइजेरिया यो वर्ष पनि खेल्दैछन्। फिफा महिला विश्वकपमा सर्वाधिक सफल टिम अमेरिका हो। उसले नवौं संस्करणसम्म आइपुग्दा चार पटक उपाधि जितेको छ।
