काठमाडौँ- यहि जनवरी १९ तारिखदेखि सुरू हुने आईसीसी यू-१९ विश्वकप खेल्न नेपाली यू-१९ टाेली दक्षिण अफ्रिकामा छ। आईसीसीले खेलकाे औपचारिक सुरू हुनु पूर्व २ वटा अभ्यास खेल खेल्ने प्रबन्ध मिलाएकाे छ। जस अनुसार हुन लागेकाे पहिलाे अभ्यास खेलमा आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। आईसीसी यू–१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले आज पहिलो औपचारिक अभ्यास खेल खेल्ने भएको हो।
नेपाल र स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ। सोही दिन नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबिच पनि अभ्यास खेल खेलिने छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपअघि प्रत्येक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल भने जनवरी १६ मा वेस्ट इन्डिजको यू–१९ टोलीसँग खेल्नेछ।
त्यसपछि जनवरी १९ तारिखदेखि यू–१९ विश्वकप सुरु हुनेछ। यू–१९ विश्वकपमा नेपालसहित १६ वटा राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ।
नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन्। यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ। जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ। नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।
