काठमाडाैँ- आज ‘२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ।
यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ
चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो।
