काठमाडौँ- उच्च हिमाली भूभाग लगाएत दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकमा मंगलबार दिउसोबाट हिमपात सुरु भएको छ। चिसो बढ्दै गएपछि उच्च हिमाली क्षेत्र लगायत कालिन्चोकसम्म हिमपात भएको हो।
दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको सुनापाती होटल सञ्चालक हरि ओलीले बताए। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।
तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको ओलीले बताए।
हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि हुने र कालिञ्चोकमा पुगेका पर्यटक खुशी देखिएको पर्यटन व्यवसायी ओलीले बताए।
कालिन्चोक क्षेत्रमा विगतका वर्षमा यो वर्ष भने पहिलोपटक हिमपात भएको हो। कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको व्यवसायी बताउछन्।
हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा यो वर्ष हिमपात नहुँदा पर्यटकको चहलपहल खासै बढेको थिएन।
पछिल्लो समय कालिञ्चोकमा भारतको केरला, पश्चिम बंगाल, पाकिस्तान, बंगलादेश लगायतबाट उल्लेख्य पर्यटक आउने गरेको पर्यटन व्यवसायी ओलीले बताए।
कालिन्चोकमा हिउँ खेल्न नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट समेत ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको उनले बताए। कालिन्चोकको कुरीमा झन्डै ९० सय वटा साना तथा ठूला होटल छन्।
