काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन क्षेत्र तनहुँ-१ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधसभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त बनेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। नेपाली कांग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीयको आकलन छ।
कांग्रेसका गोविन्दलाई सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतको समर्थन छ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षकसमेत रहेका सर्वेन्द्र खनाल मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं-६ बाट रास्वपाका शिशिर खनलासँग पराजित भएका उम्मेदवार हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले डा स्वर्णिम वाग्ललाई उम्मेदवार बनाएको छ। वाग्ले गत १६ गते कांग्रेस छाडेर स्वतन्त्र पार्टी प्रवेश गरेका थिए। यो निर्वाचन क्षेत्रम मुख्य रुपमा यिनै तीनबीच प्रतिस्पर्धा हुने विश्लेषण छ।
चुनावी तथ्यांकमा तनहुँ-१
मंसिर ४ मा सम्पन्न तनहुँ-१ मा १ लाख २३ हजार ४९० मतदाता थिए। तर उपनिर्वाचनमा मतदाताको संख्या घटेको छ। निर्वाचन आयोगका अनुसार वैशाख १० गते आइतबारका दिन मतदान गर्न योग्य मतदाताको संख्या १८५ कम भएका हुन्। हाल १ लाख २३ हजार ३०५ जनाले यो क्षेत्रबाट मतदान गर्न पाउनेछन्।
गत निर्वाचनमा कांग्रेसका पौडेलले २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए। त्यो बेला पौडेललाई तत्कालीन पाँचदलीय गठबन्धनले समर्थन गरेको थियो। उनका निकटतम प्रतिद्वन्द्वी थिए एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए।
मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट कारबाहीमा परेका गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तेस्रो भएका जोशीले ६ हजार ८८६ मत प्राप्त गरेका थिए। उपनिर्वाचनमा जोशी फ्याक्टर निर्णायक बन्न सक्ने आकलन गरिएको छ। कांग्रेसले जोशीमाथि गरिएको कारबाही फिर्ता लिएको छ। तर जोशीले भने न आफूमाथि कारबाही भएको स्वीकार गरेका छन्, न त फिर्ता लिएको विषयलाई नै सहज लिएका छन्। यद्यपि जोशी समूह र कांग्रेसबीच छलफल चलिरहेको छ।
मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले विकास सिग्देललाई उम्मेदवार बनाएको थियो। उनले ६ हजार ४४ मत प्राप्त गरेका थिए। राप्रपाले २ हजार ४८४, मंगोल नेशनल अर्गनाइजेसनले ३६०, राष्ट्रिय जनमुक्ती पार्टीले ३०१, जसपाले २६०, राप्रपा नेपालले ९२, नेश्नलिस्ट पिपल्स पार्टीले ३० र नेमोकिपाले २१ मत प्राप्त गरेका थिए।
निर्वाचनमा प्रतिनिधि सभा समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ मत प्राप्त गर्दा एमालेले १६ हजार ६८३ मत प्राप्त गरेको थियो। समानुपातिक तर्फ तेस्रो बनेको रास्वपाले १२ हजार ७७३ मत ल्याउँदा माओवादीले ७ हजार ३२६ र राप्रपाले ३ हजार ५७७ मत प्राप्त गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।
मत जोगाउने पक्षमा कांग्रेस
यसअघि मंसिर ४ को निर्वाचनमा पनि आफ्नो दलका उम्मेदवारले जितेकाले यो निर्वाचन क्षेत्रमा विजयी बन्न सकिने बलियो आश कांग्रेसले गरेको छ। केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भट्टराईलाई उम्मेदवार बनाएर मैदानमा खटिएको कांग्रेसका केन्द्रीय नेता पनि तनहुँ-१ को माहोल आफ्नो पक्षमा पार्न सक्रिय छन्। कांग्रेसमा अवसर नपाएका नेता भनिने उम्मेदवार भट्टराई ०७४ सालको निर्वाचनमा प्रदेशसभा पराजित बनेका थिए।
प्रतिनिधि सभामा पार्टीले भट्टराईलाई पहिलो पटक विश्वास गरेको हो। स्थानीयसँग भिजेका भट्टराई ‘पानी मान्छे’ भनेर पनि चिनिन्छन्। सदरमुकाम दमौलीलगायतका ठाउँमा उनको पहलमा खानेपानी योजना बनेका कारण उनलाई ‘पानी मान्छे’ भनेर कांग्रेसका स्थानीय नेता-कार्यकर्ताले चिन्ने गरेका छन्।

कांग्रेस नेता प्रदीप पौडेल उम्मेदवार भट्टराईको चुनावी अभियान।
निर्वाचन क्षेत्रमा लोकप्रिय बनेपनि उनका लागि ठूलो चुनौती डा वाग्लेले खडा गरिहरेका छन्। हालै कांग्रेस त्यागेर रास्वपाबाट चुनाव उठेका वाग्ले जसरी पनि चुनाव जितेर सांसद बन्ने आकांक्षाका कारण रास्वपामा पुगेका हुन्। भट्टराईको तयारीलाई वाग्लेले ब्रेक लगाउने दाबी गर्दै आएका छन्।
गत निर्वाचनमा रास्वपाले यो क्षेत्रबाट प्रत्यक्षतर्फ ६ हजारभन्दा बढी र समानुपातिक तर्फ १२ हजार मत ल्याएको थियो। कांग्रेस पृष्ठभूमिका वाग्लेलाई नै रास्वपाले प्रतिस्पर्धी बनाउँदा वाग्लेले कांग्रेसको मत तान्न सक्ने भएकाले भट्टराईलाई चुनाव जित्न सहज भने छैन।
तनहुँमा गोविन्दराज जोशी फ्याक्टरको छुट्टै प्रभाव छ। आफूमाथि चुनौती देखेको कांग्रेस जोशी फ्याक्टरलाई मिलाएर चुनावमा जित निकाल्ने योजनामा छ। सोमबार मात्रै जोशीपुत्रले दीपकले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। तर छलफल सकारात्मक नभएको बताइएको छ। देउवाले गोविन्दलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका थिए। तर दीपकले देउवाको प्रस्ताव अस्वीकार गर्दै समूहकै व्यवस्थापन गर्नुपर्ने माग राखेका थिए।
देउवा-दीपक वार्ता सकारात्मक नभएपनि कांग्रेस र जोशी समूहबीचको छलफलको ‘च्याप्टर क्लोज’ भने भइसकेको छैन। मौन अवधि सुरु हुनुअघि जोशी समूहलाई साथमा लिने प्रयत्नमा कांग्रेस छ।
जोशीसँग सहमति नजुटेकै अवस्थामा पनि भट्टराईलाई केही न केही लाभ मिल्ने तनहुँ कांग्रेसको विश्लेषण छ। जोशी आफैँले उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्। यस्तै तनहुँको राजनीतिमा जोशी टकराव रामचन्द्र पौडेलसँग थियो। पौडेल राष्ट्रपति भइसकेको र भट्टराईसँग खराब सम्बन्ध नरहेकाले जोशी समूहको मत पाउने अपेक्षा कांग्रेसको छ।
उम्मेदवार भट्टराई भने आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन्। भट्टराईले तनहुँले अब आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, व्यावसायिक सबै प्यास मेट्ने बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भट्टराईले मतदाताहरूले देखेका सपनाहरू पनि चाँडै पूरा हुने दाबी गरेका छन्।
‘अब तनहुँ तिर्खाउने छैन। तनहुँले आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, व्यावसायिक सबै प्यास मेट्ने छ,’ भट्टराईले भन्छन्, ‘अबको यो यात्रामा यहाँहरूको माया र साथको अपेक्षामा। उही यहाँहरूको, पानी मान्छे।’
कांग्रेसको मत तान्ने पक्षमा रास्वपा
रास्वपाका उम्मेदवार वाग्ले सकेसम्म धेरै कांग्रेसको मत आफ्नो पक्षमा पार्ने ध्याउन्नमा छन्। आफ्नो पृष्ठभूमि कांग्रेस भएकाले कांग्रेसका मतदाताको मत तान्न सकिने आँकलन उनले गरेका छन्। स्थापित दलहरुप्रतिको आक्रोशको मत उनले प्राप्त गर्न सक्नेछन्। सँगै अर्थविद्का रुपमा उनले बनाएको छविले पनि युवा मतदाता उनीप्रति आकर्षित हुने देखिन्छ। यस्तै जोशी समूहको मत लिने प्रयास पनि उनले गर्ने छन्। कांग्रेस र जोशी समूहबीच सहमति नभए त्यसको फाइदा वाग्लेलाई पुग्ने विश्लेषण समेत भइरहेको छ।
वाग्लेमाथि टुरिस्ट उम्मेदवारको आरोप लागिरहेको छ। उनले आफूमाथि लागेको टुरिस्ट उम्मेदवारको ट्यागलाई चिर्ने कोसिस गरिरहेका छन्। उनले शनिबार तनहुँमा आयोजित कार्यक्रममा भनेका थिए, ‘अरू कुनै खोट लगाउने अवसर नपाएपछि फलानो त पाहुना हो कि भनेर अलिकति गिज्याउने, अलिकति होच्याउने गरेका छन्।’

डा स्वर्णिम वाग्ले।
अन्य नेताको उदाहरण दिँदै आफू टुरिष्ट उम्मेदवार नभएको दाबी उनले गर्दै आएका छन्। ‘रवि लामिछाने काभ्रेका हुनुहुन्छ, काठमाडौंमा हुर्कनुभयो, चितवनमा नेपालकै ठूलो मतान्तरले जिताएर नेपाली जनताले पठाइदिनुभयो। तनहुँका शंकर भण्डारी माडी तरेर अर्कै ठाउँमा जानुभयो उहाँलाई टुरिस्ट भनिएन, तनहुँका प्रदीप पौडेललाई काठमाडौं-५ बाट जिताउनमै मरिहत्ते गरेर लागेको थिएँ,’ उनले भनेका थिए, ‘उहाँलाई काठमाडौंले टुरिस्ट भनेर अपमान गरेन। जसका कुनै तर्क छैनन्। जसले कुनै खोट देखाउन सक्दैन। उनले यो बेतुकका कुरा गरेर मान्छेलाई निरूत्साहित पार्छन्।’ वाग्लेले तनहुँवासीसँग गरिएको वाचा पाँच वर्षमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग साढे दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाप्रति मतदातामा नकारात्मक असर परेको रास्वपाकै नेताहरूको आकलन छ। अडियो सार्वजनिक हुनुअघि श्रेष्ठ निर्वाचन अभियानका लागि तनहुँमा नै खटाइएको थियो। त्यसलाई पनि चिर्न वाग्लेलाई चुनौती आएको छ।
कांग्रेसको मत बाँडिदा फाइदा हुने एमाले विश्लेषण
नेकपा एमालेले भने कांग्रेसको मत बाँडिने र त्यसको फाइदा आफूलाई हुने विश्लेषण गरेको छ। कांग्रेसको मत भट्टराई र वाग्लेमा बाँडिदा आफूलाई पुग्न सक्ने विश्लेषण एमालेको छ। नेपाल प्रहरीका महानिरीक्षक बनिसकेका ‘हाइ प्रोफाइल’ उम्मेदवार भन्दै एमालेले प्रचार गरिरहेको छ।
खनालको विगत भने विवादस्पद छ। प्रहरी संगठनको प्रमुख हुँदा अनियमितता गरेको आरोप खनालमाथि छ। यस्तै तत्कालीन सांसद् डा सुरेन्द्र यादवको अपहरण गरेको आरोप पनि उनी माथि छ। यस्तै काठमाडौं–६ बाट चुनाव हारेको पाँच महिनामै उम्मेदवार बनेको विषयमा पनि आलोचित छन्।
खनाल तनहुँकै भएपनि त्यहाँ जनतासँग धेरै भिजेका नेता भने होइनन्। यद्यपि उनले कांग्रेसको मत बाँडिएको अवस्थामा आफूलाई फाइदा पुग्ने विश्लेषण गरेका छन्। यस्तै जोशी समूहलाई रिझाउन सके उनलाई फाइदा पुग्नेछ।

तनहुँ-१ उपचुनावमा एमाले उम्मेदवार खनाल।
२०७४ को निर्वाचनमा आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले तत्कालीन एमाले नेता किसान श्रेष्ठलाई सहयोग गरेका थिए । जोशीको समर्थनमा श्रेष्ठले रामचन्द्र पौडेललाई ६ हजार बढी मत ल्याएर पराजित गरेका थिए।
यस्तै गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जोशीपुत्र दीपक एमालेको समर्थनमा व्यास नगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए। तर उनी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग पराजित बने। जोशी समूह र एमालेबीचमा यसअघि पनि सहकार्य भएकाले यसपटक पनि त्यो सम्भावना टरेको देखिँदैन। जोशीले यसअघि नै उम्मेदवारी दिएकामध्ये एकलाई आफूले समर्थन गर्ने पनि घोषणा गरेका छन्। अब उनले कसलाई समर्थन गर्छन्? त्यसमा पनि धेरै कुरा निर्भर हुने देखिन्छ।
खनालले जनताको सेवाबाहेक अन्य स्वार्थ नरहेको बताउँदै आएका छन्। उनले नागरिकको मुहारमा खुसी ल्याउन आफू राजनीतिमा आएको जिकिर गरिहरेका छन्।
‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाञ्छना लगाउँछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिनँ। तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु,’ उनले भनेका छन्, ‘मेरो उम्मेदवारीमा देश र जनताको सेवा बाहेक अन्य कुनै स्वार्थ छैन, आम नागरिकको मुहारमा खुसी ल्याउने काम मात्र गर्नेछु।’
नेपाली कांग्रेस मत जोगाउने रणनीतिमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेसकै मत तान्ने प्रयासमा छ। दुवैबीच तान्ने र जोगाउने प्रतिस्पर्धा हुँदा आफूलाई फाइदा पुग्ने एमालेको विश्लेषण छ।


