पोखरा- ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ सेमीफाइनल समीकरण पूरा भएको छ। बुधबार महिला र पुरुषतर्फका सेमीफाइनल समीकरण पूरा भएको आयोजकले जानकारी दिएको हो।
बुधबार भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गर्यो। खेलमा एपिएफकी निरुता ठगुन्ना म्याच अफ दी टाइगर बनेकी छन्।
त्यसैगरी अर्को खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमीले भारतको हरियाणा टिमलाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो। उक्त खेलमा न्यूडाइमण्डकी सुमित्रा रेग्मी म्याच अफ दि टाइगर बन्न सफल भइन्।
सेमीफाइनल समीकरण पूरा हुँदा अरुणा शाही नेतृत्वको गण्डकी र भारत हरियाणाको पाहुना टोली पनि प्रतियोगिताबाट बाहिरिएको छ।
समूह एमा रहेको एपीएफ ५ अंक सहित समूह विजेता हुँदै समूह बीमा रहेको त्रिभुवन आर्मी उपविजेता हुँदै पहिलो सेमिफाइनलमा बिहीबार प्रतिस्पर्धा गर्ने भएका छन्।
त्यसै गरी ६ अंक सहित समूह बीको विजेता भएको न्यु डायमण्ड एकेडेमीले ३ अंकसहित समूह बीको उपविजेता नेपाल पुलिससँग दोश्रो सेमिफाइनल खेलमा भिड्ने भएको छ।
