काठमाडौँ- पूर्वी नेपालको ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात भएको छ। मंगलबारबाट सुरु भएको हिमपात जारी रहेको स्थानीयले जनाएका छन्।
स्थानीयका अनुसार उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिमपात भएको छ। हिमाली बस्तीहरू ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायतमा हिउँ परेको छ।
ओलाङ्चुङगोलाकी स्थानीय दावाफुटी शेर्पाका अनुसार बस्तीसम्म नै हिउँ परेको छ। उनले ओलाङ्चुङगोलामा हिउँ पर्नेक्रम जारी रहेको बताइन्।
यस्तै, घुन्सा र फले बस्तीमा पनि सामान्य हिउँ परेको स्थानीयले बताएका छन्। उक्त बस्तीहरूमा अहिले पनि हिमपात भइरहेको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार हिमपात हुन थालेपछि चिसो बढेको छ। हिमपातसँगै चिसो बढेकाले हिमाली भेगको जनजीवन प्रभावित बन्दै गएको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए।
यता, प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा हिमपात भएको छ। माथिल्लो फेदीका स्थानीय होटल व्यवसायी राजेन्द्र महतका अनुसार मङ्गलबार रातिदेखि सुरु भएको हिउँ पर्नेक्रम अहिले पनि जारी रहेको छ।
उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लामा चिसो बढेको छ। चिसोका कारण बजारमा चहलपहल पनि पातलिएको स्थानीय विक्रम लिम्बूले बताए। आज यहाँ फाट्टफुट्ट वर्षासमेत भएको छ।


