काठमाडौँ- नेपाल भलिबल संघ (एनभीए)ले २०२४ भित्र मा नेपालमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरेको छ।
संघको शुक्रबार पोखरामा बसेको सातौं पूर्ण बैठकले २०२४ मा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितादेखि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
‘एनभीएले २०२४ अगष्टमा काभा वुमन्स नेसन्स लिग र नोभेम्बरमा काभा मेन्स क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ,’ उनले भने।
चन्दले नेपालले यसअघि काभा वुमन्स च्यालेन्स लिगको सफलतापूर्वक आयोजना गरिसकेको र अब अन्य प्रतियोगिता पनि गर्ने अवसर भएको बताए।
यसअघि नेपालले २०८० वैशाखमा काभा वुमन्स च्यालेन्ज लिग आयोजना गरेको थियो । त्यस्तै २०१९ मा एभिसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलको पनि आयोजना गरेको थियो ।
यस्तै, संघले आगामी चैतमा दुई महत्वपूर्ण कार्यक्रम गर्ने निर्णय गरेको छ। जसमा एनभीए महिला तथा पुरुष च्याम्पियनसिप र एनभीए अवार्ड रहेको छ।
चैत १ देखि १० गतेसम्म आठौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप गर्ने बैठकले निर्णय गरेको छ। यसअघि क्लब भलिबल च्याम्पियनसिपको नाममा आयोजना हुने गरेपनि अब भने एनभीए भलिबल च्याम्पियनसिप मात्र राखिएको र त्यसमा क्लब बाहेक अन्य टिमले पनि सहभागिता जनाउने सक्ने भएका छन्।
अवार्डमा वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र टिमलाई सम्मान गरिने संघका अध्यक्ष चन्दले जानकारी दिए। संघले यसअघिका वर्षहरुमा पनि एनभीए अवार्ड आयोजना गर्दै आएको छ।
यस्तै यही माघ ७ गते नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्रीहरुको सम्मेलन आयोजना गर्ने र रेफ्री कमिशनलाई पूर्णता दिने पनि संघले निर्णय गरेको छ।


