काठमाडौँ- त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदैछ। प्रतियोगिता ललितपुरको जावलाखेलमा आज एक कार्यक्रमकाबीच उदघाटन हुन लागेको हो।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुने यो प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ।
११ गतेसम्म चल्ने प्रतियोगितामा भलिबलसहित बास्केटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी ५ खेलको प्रतिस्पर्धा हुनेछ।
उक्त खेलको शनिबार आयोजकले टाइसिट सार्वजनिक गरिसकेको छ। जसमा भलिबलतर्फ त्रिविअन्तर्गत रहेका देशका विभिन्न स्थानका २७ क्याम्पसले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी बास्केटबलमा १९ टोली सहभागी छन्। जसलाई ८ समूहमा विभाजन गरिएको छ। ५ समूहमा २–२ तथा ३ समूहमा ३–३ टोली समावेश गरिएको छ। यसमा लिग चरणको खेलपछि प्रिक्वाटरफाइनल खेल हुनेछ।
आजै जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबलका खेल सुरु हुनेछन्। बास्केटबल खेलहरु आजदेखि नै सुरु हुनेछन् र ११ गते फाइनल हुनेछ। बास्केटबलका खेलहरु कीर्तिपुर नगरपालिकाको कभर्डहलमा हुनेछ।
ब्याडमिन्टनमा महिला सिंगल्स, पुरुष सिंगल्स, महिला डबल्स र पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ। ब्याडमिन्टन प्रतियोगिता त्रिभुवन विश्वविद्यालय, स्मृतिभवन हुनेछ।
यस्तै टेबलटेनिसमा महिला सिंगल्स र पुरुष डबल्स गरी दुई विधामा मात्र खेल हुनेछ। टेबल टेनिस प्रतियोगिता त्रिभुवन विश्वविद्यालय खेल विज्ञान भवन (पुरानो विद्यार्थी क्लव, त्रिवि सेवा आयोग अगाडि) हुनेछ।
एथलेटिक्स प्रतियोगिता भने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला माघ १० गते बिहान ८ बजेदेखि हुने हुनेछ। एथ्लेटिक्समा सबैभन्दा धेरै खेलाडी सहभागी छन्।


