काठमाडौँ- आईसीसी यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्ने भएको छ। खेल नेपाली समय अनुसार दिउसो १ः४५ बजे सुरु हुने छ।
नेपालले सन् २००२ मा भएको यू-१९ विश्वकपमा पाकिस्तानलाई हराएको थियो। त्यो विश्वकपको समूहगत चरणको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा नेपालको यो दोस्रो खेल हो। यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। उक्त खेलमा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो।
जबाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर २३८ रनमात्र बनाउन सकेको थियो। उक्त खेलमा नेपाली बलरले न्युजिल्यान्डका स्नेहिथ रेड्डी र कप्तान ओस्कर ज्याक्सनको साझेदारी तोड्न नसक्नु नै हारको प्रमुख कारण बनेको थियो।
न्युजिल्यान्डका लागि रेड्डीले अविजित एक सय ४७ र कप्तान ज्याक्सनले ७५ रन बनाएका थिए । जबाफी ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रन बनाएका थिए । तर, अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन सकेनन् । नेपालका लागि कप्तान देव खनालले ३६ र तल्लो क्रमका ब्याट्सम्यान सुवास भण्डारीले अविजित ३३ रन बनाएका थिए ।
यू-१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ। उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ। नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।


