काठमाडौं- बाणिज्य बैंकहरुले ब्याजदर घटाएको सकारात्मक असर नेपाल स्टक एक्चेन्ज (नेप्से) मा देखिएको छ। कारोबार सुरु भएको पहिलो डेढ घण्टामा नै सेयर बजार परिसुचक नेप्से करिब ५९.२४ अंकले बढेको छ।
२१८ कम्पनीको सेयर खरिद बिक्री भइरहेको नेप्सेमा १२६ कम्पनी सेयर कारोबार बढेको छ भने १ कम्पनी सेयर कारोबार घटेको छ। बाराही जलविद्युत कम्पनीको सेयर कारोबार घटेको छ। यसैगरी सपोर्ट माइक्रोफाइनान्स कम्पनी सेयर कारोबार घटबढ भएको छैन्। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ भने कालिनचोक आदर्श लिमिटेड कम्पनीको सेयर कारोबार ९.९८ प्रतिशतले बढेको छ।
बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले घटाएका छन्। हाल ११ प्रतिशत रहेको साधारण मुद्दती निक्षेपको ब्याजदर १.०१ घटाएर एकल विन्दु ९.९ प्रतिशत कायम गरिएको छ।
यसैगरी संस्थागत मुद्दतीको निक्षेप ब्याजदर पनि घटाएर ७.९ ९ प्रतिशत कायम गरिएको छ। राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरुले एक पटकमा १० प्रतिशतले मात्रै ब्याजदरमा घटवढ गर्न पाउँछन्। नेपाल बैंकर्स संघले बुधबार विहान ब्याजदर घटाउने निर्णय गरेको हो। वैशाख १ गतेबाट बैंक तथा वित्तीय संस्थाहरु नयाँ ब्याजदरमा निक्षेप संकलन गर्नेछन्।


