सिन्धुली- पुर्पक्षका लागि थुनामा रहेका विवादित धर्मगुरु रामबहादुर बम्जन विरुद्ध प्रहरीमा जाहेरी दिने एक किशोरीका बाबुको मोटर साइकल दुर्घटनामा मृत्यु भएको छ। सिन्धुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चलाइरहेका ६३ वर्षीय विष्णुबहाजुर थिङको मृत्यु भएको हो।
मंगलबार बेलुका पौने ८ बजे सिन्धुलीको भिमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो। सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार डगाबाट भिमानतर्फ जाँदै गरेको उक्त ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थिय।
ठक्करबाट बा ५८ प ९१४१ नम्बरमा सवार रौतहटको गुजरा नगरपालिका-२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ मोटरसाइकलका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६३ वर्षीय विष्णुबहाजुर थिङ घाइते भएका थिए। घाइते थिङको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जन जिल्ला अदालत सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।


