धादिङ- धादिङमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मालिंगामा बिहीबार राति साढे ९ बजे तीन वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक र पछाडि बसेकाहरू घाइते भएका हुन्।
काठमाडौंबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२-००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएको थिए।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्तुलाल जैसवारका अनुसार दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकल काठमाडौँको टोखा नगरपालिका-२ का २८ वर्षीय विजय डंगोलले चलाएका थिए। उनको पछाडि ४६ वर्षीया मीना डंगोल थिए।
त्यस्तै बा ८३ प ८९६० नम्बरको मोटरसाइकल टोखाकै २८ वर्षीय विवेक तामाङले चलाएका थिए। उक्त मोटरसाइकलको पछाडि २४ वर्षीया विनिता डंगोल थिइन्।
बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल धादिङको गजुरी गाउँपालिका-२ का २६ वर्षीय सुदीप खरेलले चलाएका थिए। उक्त मोटरसाइकलको पछाडि बेनिघाट रोराङ गाउँपालिका-३ का १५ वर्षीय कर्म प्रजा थिए।
खरेलको बिएन्डबी अस्पतालमा र अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ।


