काठमाडौं- लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले क्लब छाड्ने भएका हुन्। उनले चालू सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन्। यसको पुष्टि लिभरपुलले नै गरेको छ। सन् २०२४/२५ को सिजनमा क्लोप एनफिल्डमा देखिने छैनन्।
५६ वर्षिय जर्मन प्रशिक्षकले सन् २०१५ देखि लिभरपुल सम्हालिरहेका छन्। लिभरपुलका लागि उनले एक प्रिमियर लिग, एक च्याम्पियन्स लिग, एक एफए कप, एक लिग कप, एक कम्युनिटी शिल्ड, एक यूइएफए सुपर कप र एकपटक क्लब विश्वकपको उपाधि जितेका छन्।
उनको नेतृत्वमा लिभरपुलले हालसम्म ४६६ खेल खेलेको छ। जसमध्ये लिभरपुलले २८३ खेल जितेको छ भने १०५ खेलमा बराबरी र ७८ खेलमा नतिजा व्यहोरेको छ।
क्लोपले नोभेम्बरमै क्लबलाई आफू बाहिरिन इच्छुक रहेको जानकारी गराएको बताएका छन्। ‘मैले नोभेम्बरमै क्लबलाई सिजनको अन्त्यमा क्लब छोड्न लागेको जानकारी गराएको थिएँ। मेरो उर्जा कम हुँदै गएको छ। यो सत्य हो। मलाई लिभरपुल र यससँग जोडिएका सबै कुरा निकै मन पर्छ। तर म सँधै क्लबको नेतृत्व गरिरहन सक्दिनँ,’ उनले भनेका छन्।
क्लोपसँगै सहायक प्रशिक्षक पेपिजन लिजेन्डर्स, पीटर क्रावित्ज र डेभलपमेन्ट प्रशिक्षक भिटोर माटोसले पनि सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन्। लिजेन्डर्स मुख्य प्रशिक्षककारुपमा करियरको बनाउन इच्छुक रहेको बताइएको छ।
A message to Liverpool supporters from Jürgen Klopp. pic.twitter.com/l7rtmxgOzt
— Liverpool FC (@LFC) January 26, 2024


