काठमाडौं- बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छाड्ने घोषणा गरेका छन्। शनिवार राति भिल्लारियल विरुद्धको खेलमा लज्जास्पद हार व्यहोरेपछि उनले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका हुन्। पोस्ट म्याच प्रेस कन्फ्रेन्समा उनले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरे। भिल्लारियलले बार्सिलोनालाई उसकै मेदानमा ३-५ गोलले पराजित गरेको थियो।
यो हारपछि बार्सिलोना लिग लिडर रियल मड्रिड भन्दा १० अंकले पछि परेको छ। खेलपछि जाभीले भने, ‘म जुनमा बार्सिलोना छाड्नेछु। हामी यस्तो विन्दुमा आइपुगेका छौं, अब फर्कन सम्भव छैन। यो परिवर्तनको समय हो। सोही कारण मलाई लाग्छ अब मैले क्लब छोड्नुपर्छ। म जुन ३० मा क्लब छाड्दैछु।’
आफूले यो निर्णय केही दिन पहिला नै लिएको बताए । ‘मैले यो निर्णय केही दिन अघि नै लिएको हुँ। मेरो निर्णय सार्वजनिक गर्ने यो सही समय हो। म क्लबको समस्या बन्न चाहान्नँ,’ उनले भने, ‘मैले क्लबका बारेमा सोच्छु। क्लबको समस्या समधानको राम्रो सुत्र भनेको मैले क्लब छोड्नु नै हो। मेरो निर्णयमा अध्यक्ष जोन लापोर्टा पनि सहमत छन्।’
केही साता यता बार्सिलोनामा जाभीको भविष्यलाई लिएर प्रश्न उठिरहेका थिए। स्पनेनिश सुपर कपको फाइनलमा रियल मड्रिडसँग ४-१ गोलले पराजित भएपछि जाभीको भविष्य माथि प्रश्न उठ्न थालेका थिए। यस्तै एथ्लेटिक क्लब विरुद्ध ४-२ को लज्जास्पद हार व्यहोर्दै बार्सिलोना कोपा डेल रे बाट बाहिरिएपछि जाभीको थप आलोचना भएको थियो। शनिवार भिल्लारियल विरुद्धको पराजयपछि जाभी आफैंले क्लब छाड्ने निर्णय सुनाए। जाभीको यो निर्णयसँगै अब बार्सिलोनाको बोर्डले नयाँ प्रशिक्षकको खोजी सुरु गर्नेछ।


