इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ।
राज्यका गोप्य कुरा चुहाएको अभियोगमा रावलपिन्डीस्थित अदियाला जेलभित्र नै स्थापना गरिएको विशेष अदालतले खानलाई १० वर्ष कैद हुने सजाय सुनाएको हो।
खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरेसीलाई पनि १० वर्षकै जेल सजाय तोकिएको छ।
कुरेसी खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का उपाध्यक्ष हुन्।
वासिङ्टनले र इस्लामाबाद पठाएको कूटनीतिक दस्तावेजसँग सम्बन्धित मुद्दामा खानलाई विशेष अदालतले दोषी ठहर गरेको हो।
उक्त दस्तावेज आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए।
खानले आफूविरुद्ध लगाइएको आरोप अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन्।
खानमाथि प्रधानमन्त्री भएका बेलामा वासिङ्टनस्थित पाकिस्तानका राजदूतले इस्लामावाद पठाएको गोप्य कूटनीतिक पत्र चुहावट गरेको अभियोग थियो।
‘साइफर घटना’ भनेर चिनिने उक्त मामिलामा खानले उक्त पत्र आफ्नो साथमा राखेको र त्यसलाई सार्वजनिक पनि गरेको राज्य पक्षको आरोप छ।
खानको कार्यले कूटनीतिक सम्बन्धमा क्षति पुगेको ठहर अदालतको छ।
उनको दल पीटीआईले उनलाई ‘झूटो मामिलामा फसाइएको’ आरोप लगाएको छ। फैसलाको पुनरावेदन गरिने पीटीआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भ्रष्टाचार मुद्दामा जेल परेका खान रहेकै जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको थियो।
अन्तिम सुनुवाइका क्रममा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जेलभित्र जान दिइएको थिएन।
गोपनीयतासम्बन्धी ऐनअन्तर्गत उनलाई उक्त सजाय तोकिएको हो।
विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो।
खान भ्रष्टाचारको आरोपमा यसअघि नै दोषी ठहर भएर तीन वर्षको जेल सजाय भोगिरहेका छन्।
प्रधानमन्त्रीको हैसियतमा प्राप्त गरेका उपहार आफूसाथ नै लगेको यसअघिको आरोप थियो।
इमरान खानले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन्।
पकिस्तानी सेना चुनावसँग ‘भयभित’ भएर आफूलाई झुटा मुद्दामा फसाइएको इमरान खानको आरोप छ।
पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक साताअघि खानविरुद्ध उक्त सजाय सुनाइएको हो।
उनलाई यो निर्वाचनमा उम्मेदवार हुन दिइएको छैन।
फेब्रुअरी ८ मा पाकिस्तानमा निर्वाचन हुँदैछ।
क्रिकेटबाट राजनीतिमा आएका खानलाई हालका सत्ताधारीले जसरी पनि चुनावमा भाग लिनबाट रोक्ने रणनीति अपनाएको कतिपयले बताउने गरेका छन्।



