काठमाडौँ- ‘आहारारा पोखरा गाल्डकप’को २३औँ संस्करणको उपाधिका लागि आज त्रिभुवन आर्मी र थ्रीस्टार भिड्दैछन्। पोखरा रंगशालामा खेल दिउसो २ बजे हुने छ।
विभागीय टिम नेपाल आर्मीले चर्च ब्वाइजलाई २–१ ले पराजित गरेको थियो भने थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेर फाइनलमा पुगेका हुन्।
दुबै टिम आहारारामा यसअघि २०७५ सालमा भिडेका थिए। उक्त खेलमा आर्मीलाई पेनाल्टी सुटआउटमा ५–४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो। त्यतिबेला निर्धारित खेल २-२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
यसपटकको उपाधि जितेर दुवैलाई आफ्नो इतिहास बनाउने अवसर छ। नेपाल आर्मी आफ्नो हारको श्रृंखला ब्रेक गर्न चाहन्छ भने थ्रीस्टार आहाराराको सर्वाधिक विजेता टोलीमा आफूलाई सामेल बनाउन चाहन्छ।
आहारारामा मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबल सर्वाधिक ६, ६ पटकका उपाधि विजेता हुन्। अब थ्रीस्टार पनि उक्त सफलताबाट केवल जितमात्रै टाढा छ।
आहारारामा इतिहासमा थ्रीस्टार क्लबभन्दा त्रिभुवन आर्मी अनुभवी टिम मानिन्छ। तर, हालसम्म उपाधि जित्न सकेको छैन । तर, थ्रीस्टार भने कम सहभागितामै बढी उपाधि जित्ने भाग्यमानी टिममध्ये पर्छ।


