पोखरा- विभागीय क्लव त्रिभुवन आर्मीले पोखरामा शनिबार सम्पन्न २३ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।
पाँच पटक फाइनल पुगेको आर्मीले पाँचौं प्रयासमा आहा! रारा पोखरा गोल्ड कपको उपाधि जितेको हो।
आर्मी यसअघि चार पटक फाइनल खेलेको आर्मी उपविजेतामै सिमित बनेको थियो।
शनिबार पोखरा रंगशालामा भएको फाइनलमा थ्रीस्टार क्लवलाई ३–० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो।
आर्मीलाई जित दिलाउन जिलेप्सी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल गरेका हुन्।
खेलको ३८ औं मिनेटमा आर्मीले थ्रीस्टारविरुद्ध अग्रता बनाएको थियो। जिलेप्सी जंग कार्काीले आर्मीलाई अग्रता दिलाएका हुन्।
सिध्दान्त चौधरीको पासमा जिलेप्सीले हेडर गोल गरेका हुन्।
पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो। आर्मीका लागि दोस्रो गोल फत्तेमान घलेले गरेका हुन्।
खेलको ८३ औं मिनेटमा घलेले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका हुन्।
त्यसपछि खेलको इन्जुरी समयको चौथो मिनेटमा आर्मीले तेस्रो गोल गर्यो। बसन्त जिम्बाले गोल गर्दै थ्रीस्टारमाथि सहज जित निकाल्दै पहिलो पटक आर्मी च्याम्पियन बनेको हो।
