काठमाडौँ- नेपालले घरेलु मैदानमा क्यानडासँगको ३ ओडीआई सिरिज खेल्ने भएको छ। ओडीआई सिरिजअन्तर्गतको पहिलो खेल आज टीयू क्रिकेट मैदानमा सुरु हुने छ। खेल बिहान ९ः१५ मा सुरु हुने छ। सिरिजको पहिलो खेल भएकाले दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन्।
रोहित पौडेलको कप्तानी रहेको नेपाली टोलीले घरेलु मैदान र समर्थकको भरपुर फाइदा उठाउँदै जित निकाल्ने रणनीतिमा रहेको छ। तर, क्यानडाको प्रशिक्षक पुबुदु दयानायिके भएकाले उनलाई नेपालको कमजोरी, बलियो पक्ष सबै थाहा छ। उनी नेपालका पूर्व प्रशिक्षक हुन्।
क्यानडालाई साद विन जाफरले कप्तानी गर्ने छन्। क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने दुविधा छ। कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन्। बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन। ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन्। उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन्।
नेपालले ओपनरमा आज अनिल कुमार शाह र कुशल भुर्तेललाई मैदान उतार्ने सम्भावना छ। प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाएका अनिललाई मौका दिने सम्भावना छ। नियमित ओपनर आसिफ शेखलाई विश्राम दिनसक्छ। तेस्रो नम्बरमा भीम सार्की र देव खनाल मध्य एक खेल्नेछन्।
कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन्। पाँचौंमा आरिफ शेख, छैटौंमा पवन सरार्फ र सातौंमा दीपेन्द्रसिंह ऐरी हुन सक्छन्। दीपेन्द्रले बलिङ आक्रामण पनि सम्हाल्नेछन्। दीपेन्द्र, रोहित र सोमपाल नेपालका प्रमुख हतियार हुन्।


