काठमाडौँ- कैलालीको टीकापुरस्थित सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरेको आरोपमा २४९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि रेग्मीले जानकारी दिए।
उनका अनुसार नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहितका पदाधिकारीसमेत गरी २४९ विरुद्ध मुद्दा दायर गरिएको हो।
टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति र संघसंस्थाहरूलाई वितरण गरेको आरोप आयोगको छ।
यसरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनुपर्नेमा त्यसको उल्लंघन गरिएको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले जग्गा जफत गर्नुपर्ने भन्दै किन्ने पक्षविरुद्ध पनि मुद्दा दर्ता गराएको छ।


