काठमाडौँ- सरकारले हुलाक सेवाका १ हजार ६ सयभन्दा बढी दरबन्दी खारेज गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुलाक सेवाका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो।
बैठकले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय पनि खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
यस्तै एक पालिका, एक हुलाक कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णयसमेत भएको उनले जानकारी दिइन्।
बैठकले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने पनि गरेको छ।
यस्तै गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको उनले जानकारी दिइन्।
यस्तै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्ष पनि नियुक्त गरिएको छ। प्रतिष्ठानको अध्यक्षमा महोत्तरीका डा. परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
मिश्रलाई प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० बमोजिम नियुक्त गरिएको हो।


