जानकी (बाँके)- आज देखि बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा ‘टुर द ठाकुरद्वारा’ हुँदै छ।
यही माघ २६ र २७ गते बर्दियाको ठाकुरद्वारामा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ। कार्यक्रममा दुई सयभन्दाबढी साइकलयात्री सहभागी हुने आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ। कार्यक्रम संयोजकका अनुसार बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय ४ किलोमिटर लामो रहेको छ।
बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने छ। चीन र भारतबाटसमेत साइकल यात्रीको सहभागिता रहने छ। टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब २७ लाख खर्च हुने अनुमान गरिएको छ।
साइकल यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए।


