राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका हुन्।
‘सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ,’ उनले भनेका छन्।
राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन्। उपराष्ट्रपति यादवले देशमा प्राकृतिक बरदानको रुपमा रहेको जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्ति जस्ता महत्वपूर्ण स्रोतसाधनको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्यायाउन लक्षित हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गरोस् भन्दै शुभकामना दिएका छन्। ‘सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ। २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत गरेका छन्।
सभामुख देवराज घिमिरेलेराजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको बताएका छन्। विकास र समृद्धिको जनाकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनुपर्ने बेला आएको उनले उल्लेख गरेका छन्। ‘राज्यका तीन अङ्गमध्ये कानून निर्माण गर्ने मुख्य थलो संसद् हो, प्रतिनिधिसभाले विधेयकहरूमाथिको छलफल सुरु गरेको छ, संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको छ,’ सन्देशमा भनिएको छ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी बनाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना र विकास गर्न नयाँ वर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन्।
‘नेपालको संविधानले आत्मसात् गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य तथा मान्यताहरूलाई संस्थागत गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न विक्रम संवत् २०८० मा विशेष योगदान पुग्न सकोस् भन्ने कामना गर्दछु,’ कार्कीको शुभकामना सन्देशमा भनिएको छ।
सन्देशमा सहज पहुँचयोग्य, छिटोछरितो एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्यायको सुनिश्चित गर्ने र न्यायिक सुशासन, गुणस्तरीय सेवा प्रवाहलगायत न्यायपालिकाले अगाडि सारेका सुधारका कार्यक्रमहरूले नयाँ वर्षमा थप गति प्राप्त गर्दै जाने विश्वास उनको शुभकामनामा व्यक्त गरिएको छ।
