काठमाडौंँ- चिनियाँ नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ। बुधबार साँझ काठमाडौँमा रत्नपार्कमा चिनियाँ रातो लालटिन बालेर शुभारम्भ भएको नयाँ वर्षको शृङ्खला शनिबार पनि विशेष समारोहको आयोजना गरिएको छ।
कार्यक्रमकै सिलसिलामा शुक्रबार ठमेलमा ड्रागन, सिंह र किरिन नृत्य प्रस्तुत गरियो भने शनिबार दरबारमार्ग क्षेत्रमा विभिन्न नृत्य प्रस्तुत गरियो।
शनिबार तामाङ समुदायको सोनाम ल्होसार पनि परेकाले चिनियाँ कार्यक्रममा तामाङ समुदायका व्यक्तिहरू पनि देखिए ।
तामाङ समुदायको सोनाम ल्होसारमा शनिबारदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
त्यस्तै चिनियाँ नयाँ वर्ष र वसन्त चाडका अवसरमा शृङ्खलाबद्ध कार्यक्रमहरू जारी राखिएको छ। भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायरमा ड्रागन, सिंह र किरिन नृत्य देखाइने कार्यक्रम छ।
चिनियाँ नयाँवर्षकै अवसरमा नेपालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेलाइएको छ।
पहिलो हाफको खेल सकिएपछि पनि चिनियाँ कलाकारले स्थानीय संस्कृति झल्कने विशेष प्रस्तुति दिएका थिए।
मैत्रीपूर्ण खेलमा सहभागी हुन चिनियाँ टोली बुधबार काठमाडौँ आएको हो ।
















