काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षका दिनदेखि शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा भेट्ने भएका छन्। प्रधानमन्त्रीसँगै पार्टीबाट मन्त्री बनेकाहरूले पनि शुक्रबारै पार्टी कार्यालयमा भेट्ने व्यवस्था गरिएको माओवादी केन्द्र पार्टी कार्यालयले जानकारी दिएको छ।
हर शुक्रबार प्रधानमन्त्री प्रचण्ड बिहान ८ बजे पार्टी कार्यालय पुग्ने कार्यालयको दाबी छ। मन्त्रीहरूले भने दिउँसो ४ देखि साँझ ६ बजेसम्मको समय पाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीसँग भेट्न चाहने नेता तथा कार्यकर्ताको संख्या बढेर कार्यालय तथा मन्त्रालयका काममा बाधा नपुगोस् भनेर भेटघाटको स्थान र समय निर्धारण गरिएको बताइएको छ।
कार्यतालिका पालना गरिए मन्त्रालय तथा निवासमा देखिने भीडभाड व्यवस्थापनमा सहज उनले माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालको भनाइ छ। भेटघाट व्यवस्थापन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेस्क स्थापना गरिएको छ।
