काठमाडौं- सत्तारुढ गठबन्धनका प्रमुख दलका शिर्ष नेता तनहुँ केन्द्रित बनेका छन्। वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गोविन्द भट्टराई मत माग्न बुधबार शीर्ष नेताहरु तनहुँ पुगेका हुन्।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले तनहुँ पुगेर भट्टराईलाई मत मागेका हुन्।
गत मंसिरमा सम्पन्न निर्वाचनमाबाट विजयी बनेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएको यो निर्वाचन क्षेत्र कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको छ।
कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा स्वर्णिम वाग्ले चुनौती बनेपछि कांग्रेस तनहुँ केन्द्रित बनेको छ।
कांग्रेसले प्रधानमन्त्री दाहाल लगायतका गठबन्धनका शिर्ष नेता उभ्याएर गठबन्धनको मत सुरक्षित गर्ने रणनीति लिएको छ। निर्वाचन क्षेत्रमा एमालेले नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।
डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले भट्टराईलाई जिताउन आग्रह गरे। उनले तनहुँमा टेक्निकल विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको भन्दै भट्टराईका पक्षमा मत मागेका हुन्।
देउवाले व्यासको भूमि राष्ट्रपतिको भूमि पनि बनेको भन्दै भट्टराई पनि मन्त्री बन्ने बताए। उनले भने, ‘व्यास अब राष्ट्रपतिको भूमि पनि बन्यो। गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ। उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला पनि!’














