काठमाडौं- क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले लगातार तेस्रो जित निकाल्लै सरिज क्लिनस्वीप गरेको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अनिलकुमार साह र भीम सार्कीले शतक बनाएको खेलमा नेपालले क्यानडालाई हराएको हो।
सिरिजको तेस्रो खेलमा नेपालले ९ विकेटको जित निकाल्यो। यसअघिका दुई खेलमा नेपाल क्रमशः ७ रन र ४ विकेटले विजयी बनेको थियो।क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा १ विकेट गुमाउँदै भेट्टाएको थियो।
सिरिजको दोस्रो खेलमा अर्धशतक बनाएका सोमबारको खेलमा अनिलले १ सय १२ रन बनाए। भीम १ सय १ रनमा अभिजित रहे। अनिल र भीमले दोस्रो विकेटका लागि १ सय ८९ रनको साझेदारी गरेका थिए।
पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए। उनलाई डिलोन हेलिगरले बोल्ड आउट गरेका थिए। त्यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो।


