काठमाडौँ- लोक सेवा आयोगले एक सिटका लागि आवेदन माग गरे ४८ जनाले उम्मेदवारले आवेदन दिने गरेको पाइएको छ। महालेखा परीक्षणक टंकमणि शर्मा दंगालले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ६०औँ प्रतिवेदनमा यस्तो विषय उल्लेख छ। यो गत आर्थिक वर्ष २०७८/७९ को विवरण हो।
गत आवमा आयोगले सञ्चालन गरेका लिखित परीक्षामा ४८ हजार ६५३ महिला र ७९ हजार ४०७ पुरुषसमेत १ लाख २८ हजार ६० उम्मेदवार सम्मिलित भएकोका थिए। त्यसमध्ये ७३८ महिला र १ हजार ९३४ पुरुषसमेत गरी २ हजार ६७२ उम्मेदवारहरू स्थायी नियुक्तिको लागि सिफारिस गरेको थियो।
आयोगले उक्त वर्ष खुलातर्फ १ हजार २०६ जना र समावेशीतर्फका लागि १ हजार १७ पदका लागि आवेदन खुलाएको थियो। यस्तै आयोगले १ हजार २३३ जना बढुवाका लागि र आन्तरिक २७१ समेत ३ हजार ७२७ पदका लागि १ हजार ३९७ विज्ञापन तथा बढुवाका लागि आवेदन माग गरेको थियो।
विज्ञापनमा माग भएका पदहरुमा आन्तरिक प्रतियोगितातर्फ ९ हजार ३०८ (२.५५ प्रतिशत), खुला प्रतियोगितातर्फ २ लाख १ हजार ७६७ (५५.२१ प्रतिशत) तथा समावेशी प्रतियोगिताहरूतर्फ १ लाख ५४ हजार ३५९ (४२.२४ प्रतिशत) समेत कुल ३ लाख ६५ हजार ४३४ दरखास्त परेको देखिन्छ।
आयोगले सुरक्षा निकायसहित ९५ सङ्गठित संस्थाको पदपूर्ति प्रक्रियामा प्रतिनिधित्व गर्दै आएको छ। उक्त वर्ष ३ सुरक्षा निकाय र २६ संगठित संस्थाका २० हजार ३५३ पदमा पदपूर्ति गर्न सहमति प्रदान गरेको थियो। आयोगले ६१२ विज्ञापनका लिखित परीक्षाबाट ३१ हजार ३४९ उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो।
संगठित संस्थाको पदपूर्ति गर्दा आयोगलाई ७ करोड ७० लाख रूपैयाँ फाइदा भएको छ। संगठित संस्थाका लागि पदपूर्ति प्रक्रियामा ३१ करोड ३२ लाख ३२ हजार प्राप्त गरेकोमा २३ करोड ६१ लाख ६८ हजार खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।


