काठमाडौं– आइतबार राति इंग्लिस प्रिमियर लिगको लिडर आर्सनल १५औं स्थानको वेस्टह्याविरुद्ध बराबरीमा रोकियो। लन्डन स्टेडियममा भएको खेलको ३२औं मिनेटसम्म पुग्दा आर्सनल दुई गोलले अघि थियो। तर, ५४ औं मिनेटसम्म पुग्दा वेष्टह्यामले खेल बराबरीमा ल्याइपुर्यायो। २ गोलको अग्रतालाई कायम गर्न नसक्दा उपाधि यात्रालाई बलियो बनाउने आर्सनलको योजना सफल हुन सकेन। चालू सिजनभर राम्रो प्रदर्शन गरिरहेको आर्सनलले यसरी लगातार जित निकाल्न नसकेको यो दोस्रो पटक हो।
त्यसो त यो सिजन आर्सनललाई लिग जित्न गाह्रो छ, भन्नेहरु पनि छन्। विषेशगरी आर्सनलका आलोचकहरुले यस्तो विश्लेषण गर्नेगर्छन्। उनीहरुका लागि आर्सनलले पछिल्ला दुई गरेको प्रदर्शन मसला बनिदिएको छ। तर, आर्सनल भने लिग जित्ने कुरामा आशावादी देखिन्छ। उसका कप्तान मार्टिन ओडेगार्डको अभिव्यक्तिले त्यसकै संकेत गर्छ।
‘हामीले यो बिर्सनु हुँदैन, हामी अझैसम्म पनि लिगको शीर्षस्थानमा छौं। र, सबै कुरा हाम्रो हातमा छ,’ ओडेगार्ड भन्छन्। लन्डन स्टेडियमा रेफ्रीले सिठ्ठी फुकेको १० औं मिनेटसम्म आर्सनलका लागि खेल निकै सुन्दर देखिन्थ्यो।
७औं मिनेटमा ग्याब्रियल जेसुस र १० औं मिनेटमा ओडेगार्डले गोल गरेका थिए। शिर्ष स्थानको टोलीले १५ औं स्थानको टोली विरुद्ध सुरुवाती १० मिनेटमै २ गोल गर्दा समर्थक र क्लब ३ अंक खातामा जोड्ने कुरामा विश्वस्त थिए। तर, ३ अंक जोड्ने आर्सनलको योजनामा शहरी प्रतिद्वन्दी वेष्टह्यामले पानी फेरिदियो। जसरी एक साता अघि एनफिल्डमा लिभरपुलले आर्सनलको योजना तुहाइदिएको थियो। लिभरपुल विरुद्ध पनि आर्सनलले २–० को अग्रता जोगाउन सकेको थिएन र बराबरीमा रोकिएको थियो।
वेष्टह्याम विरुद्धको खेलमा बेन्राहामाको पेनाल्टी गोल, थोमस पार्टेको खराब प्रदर्शन र डिफेन्डर ग्याब्रियल गल्ती आर्सनलका लागि महँगो सावित भएको थियो।
तर आर्सनका प्रशिक्षक मिकेल आर्टेटाले भने खेलपछि आफ्नो टोलीले ३ अंक जित्नुपर्नेगरी खेलेको दाबी गरे। ‘धेरै निराशाजनक रह्यो,’ उनले भने, ‘जसरी हामीले सुरुआत गर्यौं, त्यो निकै शानदार थियो। त्यसपछि हामीले बनाइसकेको नियन्त्रण गुमाउन पुग्यौँ। हामीले उनीहरुलाई आशा जगाउन सहयोग गर्यौं। त्यसमाथि पेनाल्टी बेहोर्नु पर्यो। यसको क्रेडिट विपक्षी टिमलाई पनि दिनुपर्छ।’
आर्सनलले पछिल्ला दुवै खेल अवे मैदानमा खेलेको छ। र अवे खेलमा जित निस्कन सकिरहेको छैन। दुई बराबरीको नतिजा निकाल्दा उसले चार अंक गुमाएर दुई अंक मात्रै जोड्न सकेको छ। आर्सनलले लगातार अंक गुमाएपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीले आठ अंकको दुरी चार अंकमा झारेको छ।

त्यसो त आर्सनल र दोस्रो स्थानको म्यानचेस्टर सिटीबीच खेल हुनै बाँकी छ। त्यो खेलले पनि लिग कसको पोल्टामा पर्छ भन्ने विषयमा धेरै हदसम्म निर्धारण गर्नेछ। हरेक खेलमा उत्कृष्ट खेल्दै आएको सिटीका फरवार्डले गोलस्कोरिङ रेकर्ड ब्रेक गर्न थालिसकेका छन्। र, उनीहरु बेगमा ब्रेक लाग्ने पनि देखिँदैन।
सिटीले अहिले सबै प्रतियोगितामा गरेर लगातार १० खेलमा जित निकालिसकेको छ। यो सिजन सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल उपाधि जित्ने योजनामा छ। र, सिटीको ट्रेबल जित्ने योजनामा बाधक बन्न सक्ने एकमात्र टिम आर्सनल नै हो।
तर आर्सनल पछिल्ला खेलहरुमा खराब लय देखिन्छ। जसका कारण उसको उपाधि यात्रा फिक्का बन्दै गएको छ। अझ सम्झनलायक कुरा त के छ भने आउँदो अप्रिल २६ तारिखको खेलमा सिटीले घरेलु मैदानमा आर्सनललाई आतिथ्यता प्रदान गर्नेछ।
यदी उक्त खेलमा सिटीले जित निकाले आर्सनल सिटीभन्दा पछि पर्ने सम्भावना पनि प्रवल छ। तर त्यो खेल भन्दा अघि आर्सनलले एक र सिटीले दुई खेल खेल्नेछ। सन् २००३–०४ यता पहिले उपाधि जित्ने लक्ष्यमा रहेको आर्सनलको आगामी रणनीति कस्तो हुनुपर्छ? फुटबल पण्डितहरु भने प्रशिक्षक आर्टेटाले बाँकी रहेका खेलमा खेलाडीको मनमा शंका उब्जने अवस्था आउन दिन नहुने बताउँछन्। ‘आर्टेटाको काम भनेकै खेलाडीले टिमका रुपमा कमजोर अनुभव गराउन नदिनु हुनेछ,’ इंग्ल्यान्डका पूर्व कप्तान माट उपसनले भनेका छन्।
तर पछिल्ला दुई खेलका नतिजा आर्टेटाको मूख्य चिन्ताको विषय बनेको छ। किनभने यसरी आर्सनलले लगातार दुई गोलको अग्रता गुमाएको जित निकाल्न नसकेको सिजनमै पहिलो पटक हो। र, शीर्षस्थानमा रहेर यसरी दुई खेलसम्म गुमाउने इतिहासमै पाँचौ क्लब मात्र हो।
यस्तै कारणले होला प्रशिक्षक आर्टेटाले खेलाडीलाई भनेका छन्, ‘मैदानमा ९० मिनेट पुरा ध्यान लगाएर खेल्नु।’ तर, लिगका पूर्व खेलाडी क्रिस सुटन र लिग विजेता ब्ल्याक बर्नको तर्क मान्ने हो भने आर्सनलको उपाधि यात्रा समाप्त भइसकेको छ।
‘आर्सनलका समर्थकको लागि प्रश्न छ– के यो त्यही दिन हो जुन दिन आर्सनलको सपना सकिएको छ?,’ उनीहरुले भनेका छन्, ‘किनभने मलाई अचम्म लागेको छ। कसरी आर्टेटाले जित निकाल्न नसकेको खेलाई पनि राम्रो भन्न सके?’
हो, आर्सनलसँग ४ अंकको अग्रता छ। तर, आत्मविश्वास भने गुम्दै गएको छ। जुन आर्सनलका लागि टाउको दुखाईको विषय बनेको छ। सँगै पछिल्ला खेलहरुमा सिटी जुन बेगमा देखिएको छ, त्यसले आर्सनलको उपाधि यात्रामा धक्का दिने देखिन्छ।


