काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सोना सिमेन्टको लाइन काटेको छ। प्राधिकरणले बुधबार दाङ स्थित सोना सिमेन्टको लाइन काटेको हो।
सोना सिमेन्टले नियमित बिल समेत नतिरेका कारण लाइन काटिएको प्राधिकरणका नेपालगञ्ज डिभिजन प्रमुख हरी पाण्डेले जानकारी दिए। उनका अनुसार सोना सिमेन्टले प्राधिकरणलाई ४१ करोड ६६ लाख नियमित बिल भुक्तानी गरेको छैन।
यस्तै डेडिकेटेड लाइनको ३२ करोड ९४ साल बिल पनि सोना सिमेन्टले भुक्तानी गर्न बाँकी छ। ‘करिब ७५ करोड महसुल उद्योगले तिर्न बाँकी छ। प्राधिकरणले पटक-पटक ताकेता गर्दा पनि उद्योगले महसुल बुझाएन। त्यसरकाण लाइन काट्न बाध्य भयौं,’ पाण्डेले भने, ‘लाइन काटेपछि उद्योगले एक जना मध्यस्थकर्ता मार्फत सम्पर्क गरेको थियो। हामीले भुक्तानी गरेपछि मात्रै लाइन जोड्ने जवाफ फर्कायौं। त्यसपछि उद्योगले कुनै रेस्पोन्स गरेको छैन।’
उद्योगले लोडसेडिङका बेला डेडिकेटेड लाइन जडान गरेको थियो। अहिले उद्योगी र प्राधिकरणबीच डेडिकेटेड लाइनको भुक्तानीका विषयमा विवाद चलिरहेको छ। उद्योगीले डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने बताउँदै आएका छन्। डेडिकेटेड लाइनलाई देखाएर सोना सिमेन्टले नियमित बिल समेत भुक्तानी नगरेको प्राधिकरणको भनाइ छ।


