काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसीसी विश्वकप लिग-२ मा सुखद् सुरुवात गर्ने लक्ष्य रहेको बताएका छन्।
नेपालले ३ वर्षको लिग–२ साइकल बिहीबारदेखि ३ देशीय श्रृंखलाबाट सुरुवात गर्दैछ। नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद् सुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो नतिजा निकाल्ने अपेक्षा राखेको बताए।
नेपालका कप्तान रोहितले यो साइकलमा राम्रो गर्न सुखद् सुरुवात हुनु आवश्यक रहेको बताए। कप्तान रोहितले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन्। आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सकेमा हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको बताए। उनले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राखेका छन्।
नेपालका प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको श्रृंखला राम्रो गरेको उल्लेख गर्दै यस श्रृंखलामा पनि सुखद् सुरुवात गर्ने धारणा राखे।
नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ। पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ।
