भरतपुर- बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालका बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिएका छन्। नेपालमा वर्षेनी करिब १ हजार ५ सयजना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ। यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँने गरेको उनको भनाइ छ। अस्पताल आउनेमध्ये बिपी कोइराला अर्बुद अस्पतालमा ४ सयको हाराहारीमा मात्र भएको उनले बताए।
चितवनको बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालद्वारा अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उनले भरतपुर अर्बुदअस्पताल आएका ६० प्रतिशत बालबालिकालाई अर्बुद निको हुने गरेको जानकारी दिए। उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ। तर निको हुने दर बढाएर ८० प्रतिशत पु¥याउन सकिने उनको भनाइ छ। ‘अहिले अभिभावकमा चेतनाको कमी छ। आधा बिरामी त अस्पताल नै आउँदैनन्। आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्’, उनले भने, ‘अस्पतालमा शय्याको सङ्ख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ।’
विश्व बाल अर्बुद दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो। नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रुपमा समेत सूचीकृत गरेको छ। सरकारले बालबालिकाको अर्बुद उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ।
सरकारले एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। डा पौडेलका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन्। नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन्। कार्यक्रममा बिपी कोइराला मेमोरियल अर्बुद अस्तपालका कार्यकारी निर्देशक डा शिव पौडेल, उपनिर्देशक डा उमेश नेपाल, अभिभावक तथा बिरामीहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: २०८० फाल्गुण ४ गते शुक्रबार ०६:४४