काठमाडौँ- आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो।
नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ। पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो।
लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन्। पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए।
लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ। यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन्।
नेपालको टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल ।
बेन्च – करण केसी, सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेख ।


