कास्की- मधेस प्रदेश र सुदुरपश्चिम प्रदेश पोखरामा जारी मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगताको फाइनलमा पुगेका छन्।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सेमिफाइलनका खेलमा मधेसले बागमती र सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुगेका हुन्।
सुदूरपश्चिमले गण्डकीलाई १ सय ४ रनले पराजित गरेका थियो। सुदूरपश्चिमका लागि विशाल विष्टले ५० बलमा १ छक्का र १२ चौकाको मद्दतमा ६६ रनको योगदान दिएपछि उसले २ सय ५ रनको स्कोर खडा गरेको थियो। गण्डकीका सोनु यादवले चार विकेट लिए। प्रकाश खनाल र समिर भुजेलले समान एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकी १९ दशमलव ५ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमात्रै बनाउन सक्यो। गण्डकीका ब्याटर सुदर्शन कोइरालाले २८ र इशान श्रेष्ठले २२ रनबाहेक अन्यले दोहोरो रन छुन सकेनन्।
आज भएको दोस्रो सेमिफाइनलमा मधेस प्रदेशका चन्दन रामले २ छक्का र ७ चौकाको मद्दतले ५९ रनको नटआउट पारी खेलेपछि मधेसले बागमतीविरुद्ध ५ विकेटले जित हासिल गरेको हो।
बागमतीले टस जितेर निर्धारित २५ ओभरम खेलमा आठ विकेटको क्षतिमा एक सय २९ रन बनाएकामा मधेसले आफ्नो लक्ष्य २३ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो।
बागमतीका हिमाल बोहराले ५९ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। खेलमा चन्दन रामले दुई विकेट लिए। उनी खेलको प्लेयर अफ दि म्याचसमेत घोषित भए। बागमतीका रोहित ठाकुरले तीन विकेट लिए।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र प्लेयर अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। फाइनल खेल फागुन ७ गते हुनेछ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा यही माघ २८ गतेदेखि भइरहेको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ। प्रतियोगिताअन्तर्गत ‘वन डे फर्मयाट’ अन्तर्गत २५ ओभरको लिग कम नकआउटमा सञ्चालन गरिएको थियो। प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश र समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल थिए।


