काठमाडौँ- नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ। मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु भएको छ।
तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ। पहिलो एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो। राष्ट्रिय टिमको बेन्च बलियो बनाउने लक्ष्यका साथ नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक ‘ए’ टिम बनाएको हो।
टोलीका कप्तान विनोद भण्डारी नभएपछि सन्दीप जोराले कप्तानको जिम्मेवारी पाएका छन्। नेपालले पहिलो खेलबाट दुई परिवर्तन गरेको छ। रिजन ढकाल र शेर मल्ललाई मौका दिएको छ। विनोद भण्डारी र प्रतिश जीसी बाहिर छन्।
यसरी नेपाली टिममा सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल रहँदा आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, विनोद भण्डारी र प्रतिश जीसी बेन्चमा छन्।
नेपालको सिनियर टिमविरुद्ध ३ खेलको एक दिवसीय सिरिज खेलेको क्यानडाले नेपालको ‘ए’ टिमविरुद्ध क्यानडा ११ को टोली बनाएर तीन खेलकै एक दिवसीय सिरिज खेलेको हो।
क्यानडा ११ मंगलबार पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने प्रयासमा हुँदा नेपालको ‘ए’ टिम पनि जित निकाल्दै सिरिजमा कमब्याक गर्ने लक्ष्यमा हुने छ। तेस्रो एक दिवसीय भने बिहीबार हुने छ।
यो सिरिज पछि क्यानडाले फेब्रुअरी २८ तारिखदेखि युएई र स्कटल्याण्डसँग आइसीसी लिग टूको पहिलो त्रिकोणात्मक सिरिज खेल्नेछ।
नेपाल-ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ।


