काठमाडौं- चितवन-२ मा वैशाख १० गते हुने उपचुनावको चहलपहल तीव्र बनेको छ। गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चुनेर पठाएको चितवन-२ लाई पाँच महिनापछि फेरि सांसद् चुन्ने चटारो लागेको छ। नागरिकता मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले माघ १३ गते लामिछानेको नागरिकता खारेज गरेसँगै उनका सबै सार्वजनिक पद गुमेका थिए।
लामिछानेको सांसद् पद खारेजभएपछि रिक्त चितवन-२ मा हुन लागेको उपनिर्वाचनमा उनै रवि फेरि उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसले चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठलाई मैदानमा उतारेको छ। नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ। लामिछाने, श्रेष्ठ र न्यौपानेबीच नै प्रतिस्पर्धा हुने अनुमान छ। श्रेष्ठलाई सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्रसहितका दलको समर्थन छ। लामिछाने र न्यौपाने भने एक्लाएक्लै प्रतिस्पर्धामा छन्।
कस्तो छ विगतको चुनावी गणित?
मंसिरको निर्वाचनको तुलनामा चितवन- २ मा अहिले मतदाता संख्या थपिएको छ। अघिल्लो निर्वाचनमा भन्दा यसपटक ६३१ जना मतदाता थपिएर मतदाता संख्या १ लाख २४ हजार ६४६ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभामातर्फ ४९ हजार ३०० मत ल्याएर लामिछाने विजयी भएका थिए। रविले ल्याएको उक्त मत निकटतम प्रतिद्वन्द्वीले ल्याएको मतको तुलनामा तीन गुणाभन्दा पनि बढी हो। लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए। यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरे। राप्रपाका रविन अधिकारीले ९५५ मत प्राप्त गर्दा मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले २७७ पाएका थिए। हाम्रो नेपाली पार्टीका अमृत तामाङले १४९ मत प्राप्त गरेका थिए। यी बाहेकका उम्मेदवारले १०० भन्दा कम मत पाएका थिए।
मंसिर ४ को निर्वाचनमा चितवन-२ बाट समानुपातिक तर्फ पनि यसअघि रास्वपा नै अग्रस्थानमा थियो। समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ तेस्रो बनेको एमालेले समानुपातिकमा दोस्रो मत पाएको थियो। उसले १६ हजार ७८४ मत प्राप्त गर्दा प्रत्यक्षमा उपविजेता बनेको कांग्रसले १२ हजार १३२ मत पायो। प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाएको माओवादी केन्द्रले ८ हजार ४०७ मत पाएको थियो भने राप्रपाले ३ हजार २१८ र नेकपा एकीकृत समाजवादीले ६१६ मत ल्याएको थियो। यी बाहेकका अन्य दलले प्राप्त गरेको मत संख्या ५०० भन्दा कम छ।
फेरिएको अवस्था
मंसिर ४ पछिका ५ महिनामा चितवनको राजनीतिमा थोरबहुत फेरबदल आएको स्थानीय नेताकार्यकर्ता बताउँछन्। अघिल्लो निर्वाचनमा प्रमुख दललाई झट्का दिएर लामिछानेको उदय मूलधारका दलको कल्पनाभन्दा बाहिर थियो। उनीहरू आपसमा रविलाई मुख्य प्रतिस्पर्धीको स्थानसम्म दिँदैनथे। तर रविले ल्याएको मतको एक तिहाई पनि प्राप्त गर्न नसकेका दल यसपालि रविलाई मुख्य प्रतिस्पर्धी मान्न तयार भइसकेका छन्। कांग्रेस र एमालेले लामिछानेविरुद्ध तीव्र प्रतिस्पर्धा हुने बताउन थालेका छन्।
तर लामिछानेलाई पनि अघिल्लो निर्वाचनमा जस्तो सहज वातावरण अहिले छैन। जसरी अघिल्लो निर्वाचनमा उनले मूलधारे दलमाथि प्रश्न उठाउँदै चुनावी क्याम्पेन गरेका थिए। यसपटक मतदाताको प्रश्नको घेराभित्र उनी आफैँ सहभागी भइसकेका छन्। पाँच वर्षका लागि चुनेर सांसद पठाए पनि पाँच महिनामै उपनिर्वाचन हुने अवस्था किन आयो? यसको उत्तर लामिछानेले दिनुपरिरहेको छ।

रास्वपा सभापति रवि लामिछाने।
कांग्रेस र एमालेले उठाएका उम्मेदवार स्थानीय भएको तर लामिछाने काठमाडौँलाई कर्मथलो बनाएर आएका व्यक्ति भएकाले पनि अहिले उनले त्यससम्बन्धी प्रश्नको सामना गरिरहनुपरेको छ। यद्यपि उनी यसअघि त्यही स्थानबाट विजयी भइसकेका व्यक्ति हुन्।
अघिल्लो निर्वाचनमा लामिछानेले उठाएका प्रश्नका जवाफ दिन नसक्ने अवस्थामा पुगेका कांग्रेस/एमालेले यसपटक लामिछानेमाथि प्रश्न तेर्स्याइरहेका छन्। अहिलेको अवस्था लामिछानेकै कारण सिर्जित भएको जिकिर उनीहरुको छ।
त्यसो त कांग्रेस र एमालेले यसपटक रणनीतिसमेत बदलेको दाबी गरिरहेका छन्। कांग्रेसले सोही निर्वाचन क्षेत्रका रैथाने र पार्टीको जिल्ला नेतृत्व सम्हालिसकेका श्रेष्ठलाई मैदान उतारेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले तत्कालीन राज्यमन्त्रीसमेत रहेका व्यापारिक पृष्ठभूमिका नेता उमेश श्रेष्ठलाई टिकट दिएको थियो। उनी मतदाताले मात्रै होइन, कार्यकर्ताले पनि रुचाएका उम्मेदवार थिएनन्।
उपनिर्वाचनमा पराजय भोगेपछि चितवन कांग्रेसका एक पदाधिकारीले एक अनौपचारिक छलफलका क्रममा भनेका थिए, ‘उम्मेदवारलाई बाटो र कार्यकर्ता चिनाउँदा चिनाउँदै ठिक्क भयो। मतदाता चिनाउन समय पुगेन। कार्यकर्ता पनि अघिल्लो दिन चिनायो, भोलिपल्ट फेरि चिनाउनुपर्ने अवस्था थियो। अनि कसरी चुनाव जितिन्छ।’ ती नेताका अनुसार अघिल्लो निर्वाचनमा लामिछानेलाई कांग्रेसका कार्यकर्ताले मात्रै होइन, नेताले समेत मत हालेका थिए।
‘लामिछानेजीको सभामा गएर वडा समितिका पदाधिकारी नै खुसीले उफ्रिएको देखेँ। उहाँहरुले मत लामिछानेलाई नै हाल्नुभयो। तीमध्येका एकले पछि बाको निधन भएको भन्दै पार्टीको झन्डा ओढाउन आग्रह गर्नुभयो। भनेपछि बुझ्नोस्, स्थिति कस्तो थियो,’ ती नेताले भने। तर यसपटक भने स्थिति फरक बनेको दाबी गर्दै ती नेता भन्छन्, ‘यसपटक भने वडा तहका साथीहरु जितनारायणजीलाई भोट माग्न हिँडिरहनुभएको छ।’

चितवन-२ मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठका साथमा महामन्त्री विश्वप्रकाश शर्मालगायत।
एमालेले पनि यसपटक रणनीति बदलेको छ। अघिल्लो पटक तेस्रो बनेका पोखरेलका ठाउँमा न्यौपानेलाई अघि सारेको छ। एमालेका जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने यसअघि चितवन-३ बाट उम्मेदवार बनेका थिए। तर एमालेले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने निर्णयपछि उनको उम्मेदवारी फिर्ता भएको थियो।
एमालेले लामिछानेले कानुन तोडेका कारण चितवनवासीले दुःख पाएको बताउँदै आएको छ। ‘हिजो उहाँहरुले धेरै माथि प्रश्न गर्नुभएको थियो र अयोग्यता देखाउनुभएको थियो। उहाँहरुले ‘नो नट अगेन’ भन्नुभयो। पाँच महिनामै ‘अगेन एन्ड अगेन’ गर्न आएको हो त? यो प्रश्नको उत्तर उहाँले दिनुपर्छ,’ चितवनमै बसेर उपनिर्वाचनको एमाले कमान्ड सम्हालिरहेका नेता गोकुल बाँस्कोटा भन्छन्।
अघिल्लो निर्वाचनमा लामिछानेतिर गएको मत फिर्ता ल्याउने प्रयत्न एमालेको छ। तर बाँस्कोटा भने एक मतले भएपनि यसपटक एमालेले जित्ने दाबी गर्छन्, ‘उपनिर्वाचन एक मतले भएपनि सूर्यले जित्छ।’
जोगाउन प्रयासरत रास्वपा
अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत जोगाउने प्रयास रास्वपाले गरिरहेको छ। निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका नेताको भ्रष्टाचार अडियो, पार्टीको विवाद र कतिपय लामिछानेकै अभिव्यक्तिका कारण पार्टीमा अघिल्लो पटक पाएको मत जोगाउन रविलाई चुनौतीपूर्ण छ।
रास्वपाले यसपटक चितवनमा मत घट्ने आन्तरिक विश्लेषण गरेको छ। अघिल्लो निर्वाचनमाभन्दा यसपटक मत पनि कम खस्ने र लामिछानेले पाउने मत पनि घट्ने विश्लेषण रास्वपाको हो। ‘यसपटक मतदान पनि कम हुन्छ। र हामीले पाउने मत पनि घट्छ भन्ने छ,’ रास्वपाका एक नेता भन्छन्।
लामिछाने भने आफूले चुनाव जित्ने बताइरहेका छन्। अघिल्लो निर्वाचनमा प्राप्त गरेभन्दा १८ सम्म मत कम पाए पनि चुनाव जितिने हिसाब रास्वपाको छ। अब प्रचार गर्न समय कम रहेकाले आक्रमक प्रचारमा उत्रिने योजना रास्वपाले बनाएको छ।
पार्टीबाट सांसद बनेका ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण र पार्टीले लिएको एक्सनलाई मुद्दा बनाउने रणनीति बनाएको छ। शनिबार चितवन २ मा भएको चुनावी सभामा लामिछानेले यसको संकेत गरेका छन्। मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग साढे २ करोड मागेको अडियो बाहिरिएपछि रास्वापाले श्रेष्ठमाथि कारबाही गरेको थियो।
लामिछानेले शनिबार श्रेष्ठलाई आफ्नो अभियानमा सघाउन आग्रह गर्दै पुराना र मूलधारका दलले आफ्नो नेताका भ्रष्टाचारसम्बन्धी अडिओ/भिडिओ सार्वजनिक गरे पनि संरक्षण गर्ने तर आफूहरू भ्रष्टाचारमा शून्य सहनशील भएको दाबी गर्ने उनै रविले आफूविरुद्ध मुद्दामामिलामा नजान आग्रह गर्नु विरोधाभासपूर्ण छ। आफूलाई सहयोग नगरे महापाप हुने वक्तव्य दिनुले उनी निकै तनावमा छन् भन्ने संकेत गरेको छ। ‘जो साथी बाहिरिनुभएको छ, उहाँलाई यति मात्र भन्न चाहन्छु– यो यात्रामा हामीलाई सघाउनुहोला, मुद्दा हाल्छु, यो गर्छु त्यो गर्छु नभन्नुहोला,’ उनले भने ‘यो यात्रामा धोका दिनेलाई महापाप हुनेछ।’
मत फर्काउन तल्लीन कांग्रेस-एमाले
कांग्रेस र एमाले भने मंसिरमा गुमाएको मत फिर्ता आउने दाबी गर्छन्। अघिल्लो निर्वाचनमा लामिछानेले ‘चोरेको’ मत फिर्ता ल्याउन सके नतिजामा फरक पार्न सकिने दुवै दलको विश्लेषण छ। दुवै दलले स्थानीय उम्मेदवार उठाएकाले यसपटक मत बढाउने स्थानीय मतदातको जिकिर छ।
मंसिरको निर्वाचनपछि एमालेले देशभर ‘मिसन ग्रास रुट’ अभियान चलाएको थियो। त्यो अभियानमा चितवन खटिएका नेता गोकुल बाँस्कोटालाई एमालेले चुनावी कमान्डर तोकेको छ। बास्कोटा फिल्डमै छन्। मिसन ग्रास रुट अभियानको लाभ चुनावी नतिजामा पर्ने विश्लेषण एमालेको छ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपाने।
‘विकासका लागि रास्वपाको कुनै खाका नै छैन। उहाँहरूसँग विकासको कुनै कन्सेप्ट नै छैन। न मुलुकको राजनीतिक इतिहासमा उहाँहरूको योगदान छ,’ एमाले उम्मेदवार न्यौपानेले भने, ‘राजनीतिक इतिहासमा योगदान नरहेको पार्टीले समाज विज्ञान र समाज विकासमा कुनै काम गर्न सक्दैन भन्ने प्रष्ट भइसकेको छ। त्यसकारण यसपटक चितवनका मतदाताले घण्टी बजाएर नमस्कार गर्दै सूर्यमा मतदान गर्नुहुनेछ।’ रास्वपासँग विकासको खाका नरहेको न्यापाने दाबी गर्छन्।
कांग्रेसले यसअघि पार्टी हित विपरित काम गरेको भन्दै कारबाही गरेका नेता कार्यकर्तालाई फिर्ता ल्याएको छ। कांग्रेसले कारबाहीमा परेका नेता–कार्यकर्ता माथि कारबाही फिर्ता लिइसकेको छ। कांग्रेसले पूर्वसभापति विकास कोइरालालगायतमाथि गरेको कारबाही फुकुवा गरेको थियो। यस्तै ०७९ को निर्वाचनमा पार्टी नीति विपरित उम्मेदवारी दिएका र समर्थन गरेका नेता कार्यकर्ताको हकमा उपनिर्वाचनमा उनीहरुले खेल्ने भूमिकाका आधारमा कारबाहीबारे पुनर्विचार गरिने निर्णय गरेको छ। पार्टीको यो निर्णयसँगै कृष्णलाल श्रेष्ठ, भीमलाल श्रेष्ठ, दिनेश कोइराला, मीना खरेललगायतले विज्ञप्ति जारी गर्दै पार्टीका उम्मेदवार श्रेष्ठलाई जिताउन अपिल गरेका छन्। त्यसको केही न केही फाइदा कांग्रेसलाई पुग्नेछ।
कांग्रेस उम्मेदवार श्रेष्ठ कांग्रेसको ९५ प्रतिशत समस्या हल भइसकेको र बाँकी ५ प्रतिशत समस्या पनि हल गर्ने प्रयासमा रहेको बताउँछन्। ‘सबै पार्टीका साथीहरू एक ढिक्का भएर लाग्नु भएको छ। यहाँ उम्मेदवार बन्दै गर्दा म यही माटोमा जन्मिएको र चितवनका लागि नै जन्मिएको हो। म जन्मिएको ठाउँका लागि केही गर्छु भनेर लागेको छु,’ उनले भने, ‘चितवन–२ का तीन वटै पालिकाका नागरिकसँग मेरो सम्बन्ध स्थापित भइसकेको छ। त्यसैले मैले चुनौती देखेको छैन। म जित्छु भन्ने उत्साहका साथ हिँडेको छु।’


