काठमाडौं- जर्मन क्लब बार्यन म्यूनिखका मुख्य प्रशिक्षक थोमस टुचेलले क्लब छाड्ने निर्णय गरेका छन्। उनले जारी सिजनको समाप्तीसँगै क्लब छाड्ने निर्णय गरेका हुन्। बार्यनले चालू सिजनमा निरन्तर खराब प्रदर्शन गर्दै आएको छ। क्लब र टुचेलबीचको छलफलपछि नयाँ सिजनमा नयाँ प्रशिक्षक खोज्ने सहमति बनेको हो।
आफ्नो निर्णयबारे टुचेलले भनेका छन्, ‘जारी सिजनको अन्त्यसँगै सहकार्य समाप्त गर्ने सहमति म र क्लबबीच भएको छ। त्यतिन्जेल म र मेरा कोचिङ स्टाफ बार्यनका लागि धेरैभन्दा धेरै सफलता प्राप्त गर्नेकुरामा प्रयासरत हुनेछौं’
बार्यनका सिईयो ड्रिसेनले सन् २०२४/२५ को सिजनमा नयाँ कोचका साथ बार्यन मैदानमा उत्रने बताए। ‘यो सिजनमा हामी च्याम्पियन्स लिग र बुन्डेसलिगामा अधिकतम सफलता हासिल गर्न प्रयास गर्नेछौं,’ उनले भनेका छन्।
यसैबीच बार्यन म्युनिखले बायर लिभरकुसनका प्रशिक्षक जाभी अलन्सोलाई नयाँ प्रशिक्षक नियुक्त गर्न इच्छा देखाएको छ। जाभीको नेतृत्वमा लिभरकुसनले चालू सिजनमा उत्कृष्ट नतिजा निकालिरहेको छ।
लिभरकुसन बुन्डेसलिगाको शिर्ष स्थानमा छ। जाभीलाई प्रशिक्षक बनाउन इंग्लिस क्लब लिभरपुल पनि इच्छुक छ। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले यसअघि नै चालू सिजनको अन्त्य पश्चात क्लब छाड्ने निर्णय गरिसकेका छन्। जाभी लिभरपुलका पूर्व खेलाडी समेत हुन्।


