त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ। जिल्लाको मध्यविन्दु नगरपालिका –२, स्थित राईनो रङ्गशालामा जारी प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई एकका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले उचालेको हो।
बुधबार भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो। दोस्रो हाफको खेल सुरु भए लगतै खेलको ४७ औँ मिनेटमा गण्डकी प्रदेशका जर्सी नम्बर ६ का खेलाडी मुकुन्द न्यूरेले पहिलो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको ५५ औँ मिनेटमा गण्डकीका खेलाडी मुकुन्द न्यूरेले पुनः गोल गर्दे आफ्नो टिमको अग्रता दोब्बर बनाएका थिए।
अठ्ठाइस बिघा क्लबका जर्सी नम्बर दुईका खेलाडी एन्जल महर्जनले आफ्नो टिमका लागि खेलको ७० औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि कुनै गोल हुन नसकेपछि गण्डकीले जित निकालेको हो।
जितसँगै गण्डकी प्रदेशले उपाधि सहित ८ लाख पुरस्कार प्राप्त गरको गरेको छ। उपविजेता बनेको अठ्ठाइस बिघा क्लबले ४ लाख पुरस्कार प्राप्त गरेको छ।
गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २० वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ। छैटौँ संस्करणको प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिम, लुम्बिनी, बागमती र गण्डकी प्रदेश, मछिन्द्र, सङ्कटालगायत १२ वटा टिम सहभागी थिए।
नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिदै आएको आयोजक राईनो क्लबका अध्यक्ष दोमन बहादुर भण्डारीले बताए। उनले छैटौँ संस्करण सफल रुपमा सम्पन्न भएको र नियमित रुपमा आगामी दिनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।


