ललितपुर- नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सुरु भएको महासमिति बैठक फागुन १० गते सम्पन्न भएको हो।
नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चार वटै प्रतिवेदन पारित गर्दै महासमिति बैठक सम्पन्न भएको छ। तर यी प्रतिवेदनलाई केन्द्रीय कार्यसमिति बैठकले आवश्यक परिमार्जन गर्ने गरी पारित गरेको कांग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी दिए।
‘महासमितिले बैठकले चार वटै प्रतिवेदनलाई पारित गरेको छ,’ ललितपुरको गोदावारीमा सम्पन्न समापन समारोहमा सम्बोधन गर्दै सभापति देउवाले थपे, ‘यी चारै प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकले आवश्यक परिमार्जन गर्न सक्ने गरी पारित गरिएको हो। हामी छिट्टै केन्द्रीय समिति बैठक बसेर यसलाई परिमार्जन गर्नेछौँ।’
माथिल्लो तहले गरेको निर्णयलाई तत्लो तहले परिमार्जन वा संशोधन गर्ने मान्यता हुँदैन। तर नेपाली कांग्रेसको महासमिति बैठकले नै पारित प्रस्तावमा परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको छ। यस्तो अभ्यास राजनीतिक दलमा नौलो हो।
केन्द्रीय समितिभन्दा माथिल्लो तह महासमिति हुने कांग्रेसको विधानमा छ। महासमितिभन्दा महाधिवेशन हुने भएकाले महासमितिले पारित गरेका प्रस्ताव/प्रतिवेदनहरू महाधिवेशनले मात्र परिमार्जन गर्नुपर्ने हुन्छ। तर कांग्रेसले भने महासमितिले पारित गरेका प्रस्ताव पनि केन्द्रीय समितिले परिमार्जन गर्न सक्ने अधिकार दिएको छ।
महासमितिमा प्रस्तुत पूर्णबहादुर खड्काबाहेकका प्रस्तावमा सभापति देउवाको असहमति थियो। सुरुमा बाँकी तीनै जनाले बनाएका प्रतिवेदनमाथि गम्भीर असहमति राखेका देउवाले परिमार्जन गर्न सक्दो प्रयास पनि गरेका थिए। तर उनको प्रयास असफल बनेको थियो।
केन्द्रीय समितिमा देउवा प्रचण्ड बहुमतमा छन्। देउवाले चाहेअनुसार निर्णय गराउन सक्ने शक्ति केन्द्रीय समितिमा भएकाले उनले महासमितिले पारित गरेका प्रस्तावलाई केन्द्रीय समितिले संशोधन गर्न सक्ने अधिकार दिएको कांग्रेसकै एक नेताले बताए। महासमितिले पारित गरेका प्रस्तावलाई केन्द्रीय समितिले उल्टाउनसमेत सक्ने भएकाले यस्तो निर्णयले आफूलाई अचम्मित बनाएको उनको भनाइ छ।


