काठमाडौँ- मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न ६ वटा मन्त्रालयको समेत कार्यभार छ। तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन्।
बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए। सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेका थिए।
कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन। काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्।
उता देउवा र प्रचण्डबीच एनपी साउदलाई तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न सहमति जुटेको छ। यसअघि ४ मन्त्री पठाएको कांग्रेसले साउदलाई सरकारमा पठाउन लागेको हो। प्रधानमन्त्री निकट स्रोतका अनुसार साउदको शपथ भोलि (आइतबार) दिउँसो ३ बजेका लागि तय भएको छ। ‘कांग्रेसका तर्फबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने तय भएको छ। भोलि ३ बजे शपथ छ,’ बालुवाटार स्रोतले भन्यो।
कांग्रेसबाट यसअघि उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, सीता गुरुङ सहरी विकासमन्त्री बनेका थिए। उनीहरुले चैत १७ गते शपथ लिएका थिए।
