काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा नागरिकका तथ्यांक रुजु गर्ने ठेक्का विदेशी कम्पनीलाई दिइएको भन्दै आपत्ति जनाएका छन्। उनले नागरिकका वैयक्तिक र जैविक तथ्यांकमा विदेशी कम्पनी र एजेन्टहरूको पकड भित्राउने गरी कानुनविपरीत ठेक्का लगाउनेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने संयन्त्र बनाउने पहल भइरोखको बेला हतारमा निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक छ । एकातिर नागरिकका वैयक्तिक र जैविक तथ्यांकमा विदेशी कम्पनी र एजेन्टहरुले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने विषय अस्वीकार्य छ,’ केसीले भने, ‘ठेक्का दिँदा विधि विधानले तोकेको मापदण्डविपरीत ७ दिनको बोलपत्र गरेर ठेक्का दिनु दण्डनीय छ । यसमा केसकानुनी सम्परीक्षणमा ल्याउनुपर्छ,’ प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै केसीले भने, ‘पुराना पार्टीहरुले गल्ती कमजोरी गरे, स्वार्थअनुसार नियम कानुन बनाउँथे । नयाँ आएका पार्टीले नयाँ चीज ल्याउने भए भनेर नेपाली जनता मख्ख भएर हेरिरहेका थिए,’ केसीले अघि भने, ‘खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्यो, यो विषयलाई त्यसै छोड्न मिल्दैन ।’


