काठमाडौँ- नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आज दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ। अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ। पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो।
नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने बलियो सम्भावना छ। अनिल शाह र ललित राजवंशीलाई मौका दिने देखिन्छ। अनिललाई ब्याटिङ र ललितलाई स्पिन बलिङ मजबुत बनाउन मौका दिने देखिन्छ। यी दुई खेलाडीलाई मौका दिँदा नामिबियाविरुद्ध ६ रनमा आउट भएका आसिफ शेख र ५ रन जोडेका सन्दीप जोरा बाहिर हुने देखिन्छ। टोलीमा अन्य परिवर्तनको सम्भावना भने कम छ।


